एकवर्षमा झण्डै ६ हजारले गरे आत्महत्या, मानसिक रोगका क्षेत्रमा लगानी बढाउन सरोकारवालाको माग

काठमाडौं, २० भदौ । चिकित्सा विज्ञान र प्रविधिको विकास तीव्र रुपमा भएपनि नेपालमा भने अझैपनि मानसिक स्वास्थ्यको विषय बहसमा आउन नसकेको भन्दै सरोकारवाला संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।
‘मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था र चुनौती’ बारे शुक्रबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका अभियन्ता, विज्ञ र सरकारी अधिकारीले मानसिक स्वास्थ्यको क्षेत्रमा भइरहेका गतिविधिका बारेमा छलफल गरेका हुन् । राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्बन संगठन र स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले समाजमा अझै पुरानो र रुढिवादी सोच विद्यमान भएकाले मानसिक स्वास्थ्यको उपचार र प्रभावितको पुनस्र्थापना प्रभावकारी नभएको बताए ।
‘नेपालमा मानसिक रोगको कुनै उपचार छैन । यो रोग श्रापका कारण हुन्छ भन्ने भ्रम अझै पनि व्याप्त छ ।’ श्रेष्ठले भने, ‘लामो समयदेखि मानसिक रोग सरकारको प्राथमिकतामा नै परेन ।’ मानसिक स्वास्थ्यको क्षेत्रमा हुने लगानीले गुणस्तरीय जीवन सुनिश्चित गर्न सकिने भन्दै उनले विस्तारै यसका विषयमा तीनतहका सरकारले राष्ट्रिय नीति अनुसार काम सुरु गरेको दावी गरे ।
स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.दिपेन्द्र रमण सिंहले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने सरोकारवाला संस्थाहरुबीच समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले सामाजिक समस्या, जैविक, अनुवांशिक, साँस्कृतिक लगायत विभिन्न पक्ष र तत्वले मानसिक समस्या र आत्महत्याको अवस्थामा पुर्याउनसम्म भूमिका खेल्ने बताए ।
स्वास्थ्य मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलले नेपालमा ‘इस्यु बेस्ड’ भएर बहस गर्ने प्रवृत्ति रहेको भन्दै यस्तो प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताए । सरकारले मानसिक स्वास्थ्य प्रभावितलाई ४३ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने तयारी गरीरहेको पनि पोखरेलले जानकारी दिए ।
आत्महत्याको कस्तो छ अवस्था ?
नेपालमा अझै आत्महत्यालाई लिएर विभिन्न भ्रम विद्यमान छन् । आत्महत्या गर्ने व्यक्तिले अरुको ध्यानाकर्षण गर्नकै लागि आत्महत्या गर्छन् वा सबै जसोले आवेगमा आएर आत्महत्या गर्छन भन्ने बुझाई छ । तर, अधिकांश आत्महत्या योजनाबद्ध रुपमा गरिएका हुन्छन् । आत्महत्या गर्नुअघि व्यक्तिमा विभिन्न लक्षणहरु देखापर्छन् ।
छटपटि र एक्लोपन महसुस हुनु लागुऔषध तथा मादकपदार्थ सेवन गर्नु, निद्रामा गढबढी हुनु, भावनात्मक उतारचढाव हुनु वा देखिनु । भविश्यप्रति निराश हुनु, हेलचेक्राईपूर्ण व्यवहार देखाउनु, साथीभाइ तथा आफन्तबाट टाढिंदै जानु, सामाजिक सञ्जालमा निराशाजनक अभिव्यक्ति प्रकट गर्नुजस्ता लक्षण देखिने मानसिक रोग विशेषज्ञहरुले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनको सन् २०१० को तथ्यांकअनुसार विश्वमा वार्षिक ८ लाख मानिसले आत्महत्या गर्छन, जसमध्ये ९० प्रतिशत घटना मानसिक समस्यासँग जोडिएको हुन्छ । जन्मेदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको छ । विश्वमा १ जनाले आत्महत्या गर्दा २० जनाले त्यस्तो प्रयास गरिरहेका हुन्छन् भन्ने अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेण्डमा १ जनाले आत्महत्यामार्फत मृत्युवरण गरिरहेका हुन्छन् ।
नेपालमा पनि आत्महत्याको तथ्यांक डरलाग्दो रहेको छ । प्रहरीको आर्थिक वर्ष २०७५र०७६ को तथ्यांक अनुसार नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन् । जसमा १८ भन्दा कम उमेरका ९ प्रतिशत, १९ देखि ३५ वर्ष उमेर समुहका ४० प्रतिशत, ३६ देखि ५० वर्ष सम्मका ३० प्रतिशत, ५१ वर्षदेखि ६९ वर्ष उमेर समुहका १६ प्रतिशत र ७० वर्ष मााथिका ५ प्रतिशत छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार वैदेशिक रोजगारका क्रममा मृत्यु हुने मध्ये १०.४ ले आत्महत्या गर्ने गरेका छन् ।