कैलालीको गोदावरी नगरपालिकामा दुई जना डेंगुका बिरामी फेला

डडेल्धुरा, १९ भदौ । देशभर डेंगुको संक्रमण बढ्दै गएको बेला कैलालीको गोदावरी नगरपालिकामा पनि दुई जना डेंगुका बिरामी फेला परेका छन् । गोदावरी नगरपालिकाका वडा नं १ बस्ने २० वर्षीया एक महिलामा र ४८ बर्षिय उनका बुवामा डेंगुको संक्रमण देखिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर खड्काले जानकारी दिए ।
डेंगुको संक्रमण देखिए पछि उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको र दुवैको अबस्था सामान्य रहेको उनले बताए । उनीहरुको नाम भने खुलाइएको छैन । स्थायी ठेगाना गोदावरी नगरपालिकामा भए पनि अध्ययनका लागि भारतको देहरादुनमा रहेकी २० वर्षीया महिलालाई सुरुमा डेंगुको संक्रमण देखिएको थियो । छोरीलाई डेंगु लागेको थाहा पाएपछि उपचारका लागि देहरादुनमा पुगेको उनका बुवालाई पनि संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख खड्काले जानकारी दिए ।
‘नगरपालिका भित्र अहिले सम्म दुई जनामा डेंगु संक्रमण देखिएकोे छ , यो पनि यहाँको होइन ,पढाईका लागि ति नानी भारतमा बस्दि रहीछिन् त्यहि भएको बेला उनलाई डेंगु संक्रमण देखिएको हो’ उनले भने ‘तर यसको प्रकोप देशैभर फैलिरहेकाले सबैले सचेत रहन जरुरी छ ।’ नगरपालिका भित्र डेंगुको संक्रमण भेटिएपछि स्वास्थ्य शाखाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।