आइओएममा लागेको ताला खोलेपछि विद्यार्थी आक्रोशित

काठमाडौं, १८ भदौ । चिकित्सा शिक्षा संघर्ष समितिको नाममा विभिन्न मेडिकल कलेजका विद्यार्थी बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको शुल्क लागु नगरिएको लगायत विषयमा संघर्षरत विद्यार्थी महाराजगन्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएम घेर्न पुगेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिकित्सा शिक्षामा भएका समस्या समाधान गर्न दवाव दिने भन्दै उनीहरु संघर्षमा उत्रिएका हुन् । विभिन्न मेडिकल कलेजले विद्यार्थिबाट विभिन्न बाहानामा बढि शुल्क लिइरहेको भन्दै एमबीबीएसको प्रवेश परिक्षा अबरुद्ध गर्ने भन्दै आइओएममा आइतवार ताला लगाएका थिए । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्सबाट एमबीबीएसको परीक्षा प्रभावित नगर्न निर्देशन दिएपछि ताला खुलाइएको थियो ।
एइओएमले एमबीबीएस लगायतका प्रवेश परिक्षा भदौ २१ गते देखि २३ गतेसम्मका लागि तय गरेको थियो ।
आइओएमको परिक्षा नियन्त्रण कार्यालयमा ताला खुलेपछि बुधबार बिहान ९ बजे मेडिकल विद्यार्थिहरु पुनः ताला लगाउन आइओएम पुगेका हुन् ।
तर, सुरक्षा व्यवस्थाका कारण उनीहरु आइओएमभित्र प्रवेश गर्न पाएका छैनन् । अहिले उनीहरु क्याम्पस परिसर बाहिर नै नाराबाजी गरिरहेका छन् ।
आन्दोलनरत विद्यार्थिले माग पुरा नभएसम्म एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका नयाँ भर्नाका लागि २१, २२ र २३ भदौमा हुने प्रवेश परीक्षा हुन नदिने जिकिर गरेका छन् ।
यता सरकारले भने नयाँ शैक्षिक शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा सुरक्षाकर्मी परिचालन गरेको छ ।
उनीहरुले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने र छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई विभिन्न बाहानामा शुल्क उठाउन नपाइने, ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था गर्नुपर्ने लगायका माग राखेर आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेका थिए ।
यता आइओएम डीनको कार्यालयले भने विज्ञप्ति जारी गर्दै हालसम्म प्रवेश परिक्षाका लागि २० हजारले आवेदन दिइसकेको भन्दै वार्ताबाट समाधान खोज्न अपिल गरेको छ ।