मानसिक रोगः पहिला वृद्धवृद्धामा अहिले युवा र बालबालिकामा बढी

बिरामी निरन्तर बढ्दै, सम्बन्धित चिकित्सक निरन्तर घटदै



Download our app to get more features

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार मानिस स्वस्थ हुन शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ हुनुपर्छ । जब विश्वमा औद्योगिक क्रान्ति सुरु भयो, युरोपका मानिसमा व्यावसायिकता बढ्दै गयो र मानिसमा प्रतिस्पर्धा हुन थाल्यो । यससँगै विज्ञान, ज्ञान, विद्यालय, युनिभर्सिटी, खोज–अनुसन्धान, उत्पादन, बसाइँसराइ, युद्धलगायत गतिविधि बढ्दै गए ।

यसले मानिसको जीवनशैलीमा आमूल परिवर्तन त ल्यायो, साथै उसमा मानसिक विचलन आउन थाल्यो ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म मधुमेह, उच्च रक्तचाप, अन्य संक्रमित रोगभन्दा मानसिक रोग अग्रपंक्तिमा आउने अनुमान गरेको छ । अमेरिकाजस्तो विकसित

देशका धेरै मानिस निद्रा लाग्ने औषधि सेवन नगरी निदाउन नसक्ने अध्ययनहरूले देखाएका छन् । नेपालको सन्दर्भमा पनि मानसिक समस्या तीव्र रूपमा बढ्दै गएको छ । तर, यस सम्बन्धमा राज्यले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छैन । आजको दिनमा पनि नेपाल मातृ मृत्युदर कसरी घटाउने, मलेरिया संक्रमण कसरी घटाउने, सुरक्षित गर्भपतन सेवा कसरी दिनेलगायत स्वास्थ्यका आधारभूत कुरामै अलमलिरहेको अवस्था छ ।
 
मानसिक समस्यका विषयमा अनुसन्धान कस्तो ?
मानसिक स्वास्थ्यसम्बन्धी उपचारको विषयमा विश्व स्वास्थ्य संगठनको विवरणलाई हेर्दा पाँच बिरामीमध्ये एकजनाले मात्र उपचार पाएको उल्लेख छ । नेपालको सन्दर्भमा मानसिक समस्या भएका व्यक्तिले के–कस्तो संख्यामा उपचार पाएका छन् भन्ने विषयमा गहिरो अध्ययन–अनुसन्धान हुन सकेको छैन ।

तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष अञ्जनीकुमार झाले भने सरकारले मानसिक समस्याका विषयलाई महत्व दिएर व्यापक रूपमा अनुसन्धान गरिरहेको दाबी गरे । उनले भने, ‘यसअघि मानसिक स्वास्थ्यका क्षेत्रमा अनुसन्धान हुन सकेका थिएनन्, अब हामी गम्भीर बनेका छौँ, आउँदो दसैँसम्म परिणाम निकाल्छौँ ।’

पुगेन राज्यको ध्यान 
मानिस किन आत्महत्या गर्न खोज्छन्, यी समस्या हटाउन के गर्न सकिन्छ, मानसिक स्वास्थ्यलाई ध्यान दिन के गर्न सकिन्छ, समस्या भएका व्यक्तिको लक्षण के–कस्तो हुन्छ, कति समयमा उपचार गराउनुपर्छ भन्ने लगायत विषयमा सरकारी निकायबाट काम हुन नसक्दा नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या वृद्धि भइरहेका छन् ।

यसको समय–समयमा टिप्पणीसमेत हुने गरेको छ । यी टिप्पणीलाई सरकारले सकारात्मक रूपमा पनि लिएको डा. झाले बताए । उनले भने, ‘नागरिकको यस्तै साथ सहयोग पाएर नै हामी यो अनुसन्धानमा उत्साहित भएर लाग्न सकेका छौँ ।’ 

द्वन्द्वग्रस्त समुदायमा आत्महत्याको प्रमुख कारण मानसिक अस्वस्थता
मानसिक समस्या विश्वका सम्पूर्ण जनसंख्यामा समानुपातिक हिसाबमा पाइने अनुसन्धानकर्ताहरू बताउँछन् । द्वन्द्वग्रस्त समुदायमा भने मानसिक समस्या मात्र नभई आत्महत्या पनि बढी देखिएको विभिन्न अनुसन्धानले देखाएको छ ।

नेपालमा सन् १९८३ मा गरिएको एक अध्ययनमा नौ वर्षभन्दा माथिका १४ प्रतिशतमा कुनै न कुनै मानसिक रोग रहेको र दुई प्रतिशतमा तुरुन्त उपचार चाहिने मानसिक रोग रहेको फेला परेको थियो ।

तुरुन्त उपचार चाहिने रोगीहरू पनि विभिन्न कारणले सही उपचारबाट वञ्चित रहेको अध्ययनले देखाएको थियो । 

मृत्युको दोस्रो कारण आत्महत्या 
विगतका दिनमा वृद्धवृद्धा भएपछि मात्रै मानसिक समस्या देखिने विश्वास गरिन्थ्यो । तर, अहिले वृद्धवृद्धाभन्दा पनि युवा र बालबालिकामा धेरै मानसिक समस्या रहेको अध्ययनहरूले देखाएका छन् । हरेक पाँचमध्ये एकजनामा अर्थात् कुल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको एक अध्ययनले देखाएको छ । 

अनुसन्धानकर्ताका अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हने गरेको छ भने २४ वर्षको उमेरसम्म ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्या देखिएको पाइन्छ ।

मानसिक समस्या आएका धेरैजसो युवाले त्यसको समाधानका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग प्रदायकको सहयोग नलिएको अवस्था छ । १५ देखि २९ वर्ष उमेरका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाइएको छ ।

कुल आत्महत्याको ७५ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आयस्तर भएका देशमा हुने गरेको अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको छ । 

१२ देखि २४ वर्ष उमेर समूहका सयजना ट्रान्सजेन्डरमा गरिएको अध्ययनको नतिजाअनुसार ५१ प्रतिशतले आफ्नो जीवन अवधिमा आत्महत्याको सोचाइ आएको र ३० प्रतिशत जीवन कुनै एक समयमा आत्महत्या प्रयाससमेत गरेका थिए । 

विश्वभरका ४५ करोडमा मानसिक समस्या
विश्व स्वास्थ्य संगठनको सन् २००३ को तथ्यांकमा ४५ करोड मानिस विश्वमा कुनै न कुनै मानसिक समस्याका बिरामी भएको उल्लेख छ । एक लाख जनसंख्यामा १५ जना व्यक्ति विश्वमा आत्महत्याका कारण मर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

यसैगरी, प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गरेको उल्लेख छ । अकालमा ज्यान फाल्नका लागि गर्ने क्रियाकलाप पनि मानसिक समस्याको एउटा रूप भएको चिकित्सकहरू बताउँछन् । 

लागुपदार्थ सेवनकर्तामा बढ्दो मानसिक समस्या
गत वर्ष ललितपुरस्थित मानसिक अस्पतालमा मात्रै मानसिक समस्याका नयाँ बिरामी २७ हजार चार सय ६१ रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ । यसैगरी, ३६ हजार एक सय तीनजना बिरामी ‘फलोअप’का लागि आएका छन् ।

तथ्यांकअनुसार गत एक वर्षमा ३६ हजार सात सय ४५ जना रहेको उल्लेख छ । मानसिक अस्पतालमा प्रत्येक दिन करिब दुई सयजना विभिन्न किसिमका मानसिक समस्याका बिरामी उपचारका लागि आउने गरेको मानसिक रोग विशेषज्ञ डा. गौतमले बताइन् । उनले भनिन्, ‘मानसिक रोगका बिरामी पछिल्लो समय बढ्दै छन्, यहाँ मात्रै दैनिक एक सय २० देखि एक सय ७५ जनासम्म मानसिक समस्यका बिरामी आउने गर्छन्,’ जसमध्ये लागुपदार्थ सेवनकर्ता बढी छन् ।

‘सानैदेखि स्वस्थ पारिवारिक वातावरण नपाएर, साथीहरूको नराम्रो संगत, देखासेखीलगायत कारण पछिल्लो समय १५–१६ वर्षका किशोर–किशोरी कुलततिर फसेका छन्, यसकारण, लागुपदार्थ सेवनले उनीहरूमा मानसिक समस्या बढाएको छ,’ उनले थपिन् । 
मनोचिकित्सक डा. रितेस थापाका अनुसार गाँजा–भाङजस्ता लागुपदार्थ औषधि हुन्छ भन्दै खाने र पछि त्यसमै फसेर मानसिक समस्या निम्त्याएका धेरै युवा बिरामी बढेका छन् ।
भूकम्पपछिको तनावलाई समयमा व्यवस्थापन गर्न नसक्दा पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्याको संख्या वृद्धि भएको डा. गौतमले बताइन् ।

उनले आपत्कालीन अवस्थामा मानसिमा हुने चिन्ता, डर, भय, तनावलाई व्यवस्थापन गर्न नसक्दा पनि बिस्तारै समस्याले सताउने बताइन् ।

यसका लागि अपत्कालीन अवस्थामा मानसिक स्वास्थ्यसम्बन्धी सेवा सरकारी निकायबाटै गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने डा. गौतमको भनाइ छ । 

मानसिक रोगीप्रति नराम्रो दृष्टिकोण
मानसिक रोगीलाई पारिवारिक, सामाजिक वातावरण स्वस्थ हुन जरुरी रहेको चिकित्सकहरू बताउँछन् । कुनै समस्या त उनीहरूसँग साथीको जस्तो व्यवहार, निकट सम्बन्ध, आवश्यक स्याहारसुसार गरे पनि कम हुँदै जाने मनोचिकित्सक डा. रितेस थापा बताउँछन् ।

तर, हाम्रो समाजमा मानसिक रोगीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्नु दुःखको कुरा हो ।

‘बिरामीलाई पागल, खुस्केको, बहुलाजस्ता नकारात्मक शब्द उच्चारण गरेर होच्चाउँदा उनीहरूमा समस्या घट्नुका सट्टा झन् बढ्छ,’ डा. थापाले भने । यति मात्रै नभई उनीहरूमा आत्महत्याको मनस्थिति सिर्जना हुने र कतिपयले आत्महत्यासमेत गर्छन्, यसकारण मानसिक बिरामीलाई ‘फेन्ड्ली बिहेभ’ अत्यन्तै आवश्यक हुने उनको भनाइ छ । 

बिरामी निरन्तर बढ्दै, सम्बन्धित चिकित्सक निरन्तर घटदै
नेपालमा मानसिक स्वास्थ्य समस्या भएर आएका बिरामीलाई राख्ने सुरक्षित कक्ष अभाव, औषधि अभाव, पर्याप्त चिकित्सक अभाव, रोगसम्बन्धी जनचेतना कार्यक्रमको अभावलगायत कारण यस विषयमा गम्भीर ध्यान नगएको प्रस्ट देखिएको छ । समाजमा मानसिक बिरामीको संख्या वृद्धि हुँदै गएको छ, तर अस्पतालमा मनोचिकित्सक निकै कम छन् ।

लगनखेलस्थित मानसिक अस्पतालमा समेत आठ–नौजना मात्रै साइक्याट्रिस्ट छन् । मनोचिकित्सकको मात्रै अभाव नभएर त्यस अस्पतालमा बेड संख्यासमेत कम रहेको अस्पताल प्रशासनले बतायो ।

उपचारका लागि दैनिक बिरामीको भिड लाग्छ, एक मानसिक रोगीलाई अस्पताल राख्ने हो भने कम्तीमा २० दिन राख्नुपर्ने हुन्छ, यसकारण अस्पतालमै राख्नुपर्ने बिरामीलाई समेत राख्न नसक्ने अवस्था रहेको अस्पताल प्रशाासनले जनायो । 

रोग पालेर बस्न बाध्य मानसिक रोगी
मानसिक रोगका विषयमा थहा नै नहुने कैयौँ मानसिक रोगी समाजमा भेटिने गर्छन् । जो मानसिक समस्या पालेर त बसी नै रहेका छन्, पारिवारिक, सामाजिक अपहेलनासमेत सहन बाध्य छन् । 

जनचेतना नहुनु, रोगीहरू सम्बन्धित विशेषज्ञसम्म पुग्न नसक्नु, स्थानीय स्वास्थ्य संस्थामार्फत जिल्लाका अस्पतालमा सेवाका विषयमा जानकारी नगराउनुको कारण बिरामी रोग पालेर बस्न बाध्य भएको एक मनोविद्ले बताए ।
कस्ता कारण निम्तिन्छ मानसिक रोग 

मनोचिकित्सक डा. थापाका अनुसार मानसिक रोग बढ्नुमा वंशाणुगत कारण, कुनै पनि व्यक्तिगत घटना, पारिवारिक÷सामाजिक मनमुटाव, आगलागी, बाढीपहिरो, भूकम्प, दुर्घटना, महामारी रोगको भय, अभाव, असुरक्षा, मनोबलको कमीलगायत कारण रहेका छन् । 

वैदेशिक रोजगारीका कारण पनि पारिवारिक सम्बन्धमा दरार पैदा भएको डा. थापाले बताए । ‘श्रीमान्–श्रीमतीबीच विभिन्न कारणले तनाव उत्पन्न हुन्छन् । त्यस्ता तनाव बढ्दै जाँदा केही मानिसमा ठूलै मानसिक समस्या सिर्जना हुन सक्छ,’ उनले भने । 

यसैगरी, लागुऔषधमा फसेका किशोर–किशोरी, पौष्टिक आहार कमीका कारण र आमाहरूको विभिन्न लापरबाहीका कारण, सामाजिक सञ्जालको अनावश्यक प्रयोगलगायत कारणले बच्चाको दिमागमा नकारात्मक असर पर्ने डा. थापाले बताए ।

त्यस्तै, पछिल्लो समय अविवाहित किशोरीमा असुरक्षित बस्ने गर्भ, प्रेमी–पे्रमिकाबीचको झैझगडा, पढाइमा असफललगायत स–साना कुराले समेत डिप्रेसन निम्त्याइरहेको उनले बताए ।

‘यसकारण, हामीले परिवारलाई समय दिने, श्रीमान्–श्रीमतीले एकअर्कालाई बुझ्ने, स–साना समस्यालाई उतिबेलै समाधान गर्ने, जीवनशैली, खानपानमा ध्यान दिने, साथस्भाइसँग घुलमिल हुने तथा काम र समयलाई व्यवस्थापन गर्न सके यस्ता समस्या व्यवस्थापन गर्न सकिन्छ,’ डा. थापाले भने ।

मानसिक रोगका प्रकार
मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतनालगायतमा गडबडी हुने समस्या मानसिक रोग हो । यो अवस्था लगातर रहिरहेमा मानसिक समस्याको शंका गर्नुपर्ने बताउँछिन्, मानसिक रोग विशेषज्ञ डा. गौतम । साधारणतया मानसिक रोगहरूमा डिप्रेसन, बाइपोलार डिसअर्डर, डिमेन्सिया, स्किजाफ्रेनिया, एन्जाइटी डिसअर्डर पर्दछन् ।
मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगी र केही मानसिक समस्या स्वस्थ वातावरण भए छोटै समयमै निको हुने खालको हुने डा. गौतमले बताइन् । 

हाल विश्वमा प्रचलित मुख्य दुई मानसिक रोग वर्गीकरण विधि ‘इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज दशौँ रिभिजन’ र ‘डायग्नोस्टिक एन्ड स्टास्टिकल म्यानुअल चौथो रिभिजन’ले विभिन्न मानसिक रोगलाई लगभग समान किसिमले व्याख्या गरेका छन् ।

एन्जाइटी डिसअर्डर, डिप्रेसन, सिजोफेर्नियाजस्ता पहिलेदेखि नै मानसिक समस्याका रूपमा परिचित रोगहरू रहेको डा. गौतमले बताइन् । साथै बच्चाहरूमा उत्पन्न हुने व्यावहारिक समस्या, सुस्त मनस्थितिका साथै लागुऔषधिको प्रयोगले उत्पन्न हुने व्यावहारिक समस्यालाई पनि मानसिक समस्याको सूचीमा राखेको उनले बताइन् । 

मानसिक समस्याका लक्षण
कस्तो किसिमको मानसिक समस्या हो त्यसअनुसारको लक्षण देखापर्ने डा. थापाले बताए । मानसिक समस्याका केही लक्षण यस्ता छन्:
तुरुन्तै दुःखी अनि खुसी हुनु ।
बेहोस हुन्छु कि भन्ने डर ।
हातखुट्टा वा शरीरबाट पसिना आउने ।
हातखुट्टा काम्ने ।
मानसिक सन्तुलन गुमाउँला कि र मृत्यु होला कि भन्ने डर ।
बढी रिसाउनु, झर्किनु, काममा मन नजानु ।
निद्रा नलाग्नु 
एक ठाउँमा बस्न नसक्ने, छटपटी हुने ।
मुटुको धड्कन असामान्य रूपमा बढ्ने ।
अचानक शारीरिक कमजोरी हुने ।
बेसुरले बोल्ने, वेलावेलामा बेहोस हुने ।
मनमा धेरै कुरा खेलाउने, तर्सिने, झस्किने ।
यौनइच्छामा कमी  । 

समाधान गर्ने केही उपाय
मानसिक रोग चिकित्सकले जाँच्नासाथ अरू रोगजस्तो पत्ता लाग्दैन । यो कुनै एक्सरे, सिटी–स्क्यान, रगत जाँचेर थाहा पाउन सकिन्न । मनसँग सम्बन्धित समस्या हुने भएकाले यो रोग शारीरिक रोगभन्दा अत्यन्त सूक्ष्म हुने डा. थापाले बताए । ‘सामान्य मानसिक समस्या सबैलाई हुने गर्दछ, जुन आफैँ निको पनि हुन्छ, त्यसकारण, सामान्य समस्याबाट असामान्य अवस्थासम्म नपुर्याउन स्वयं नै सचेत हुन जरुरी छ,’ उनले भने । 


मानसिक समस्यामा औषधिभन्दा योग, ध्यानबाट पूर्ण रूपमा ठीक हुन्छ । ध्यानको साक्षी साधनाअनुसार हाम्रो विचार, भावना र शरीरमा आइरहेको विचार, भावना, संवेदनालाई ठीक–बेठीक भनेर नछुट्याई होसपूर्ण रूपमा हेर्न सकेमा पनि बिस्तारै मानसिक समस्या ठीक हुने बताइन्छ । जसका लागि प्रत्येक दिन साधना गर्नुका साथै धैर्यको खाँचो हुन्छ । त्यसका साथै सकारात्मक चिन्तन, सन्तुलित भोजनले पनि सहयोग गर्दछ । यसका लागि योग्य ध्यानाचार्यसँग प्रशिक्षणको आवश्यक छ ।

Last modified on 2019-09-02 12:18:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts