कसरी हुन्छ नेपालमा औषधि परीक्षण ?

औषधि प्रत्यक्ष जनस्वास्थ्यसँग सरकार राख्ने वस्तु हो । यस्तो संवेदनशील वस्तुको परीक्षण प्रक्रिया स्वाभाविक रूपमै जटिल हुने गर्छ । यी जटिल प्रक्रिया पार गरेका औषधि प्रयोग गर्न पाउने हरेक नागरिकको अधिकार हो । तर, नेपालमा औषधि परीक्षणमा हेलचेक्र्याइँ हुने टिप्पणी बेलाबेलामा आउने गर्छ । यस्ता टिप्पणीले आममानिसले प्रयोग गर्दै आएको औषधि कस्तो होला भन्ने अन्योल बढ्ने गरेको छ । साथै औषधि परीक्षण कसरी होला ? हामीले खाएका औषधि गुणस्तरयुक्त छन् वा छैनन् भन्ने लाग्ने गर्छ ।
नेपालमा कुल ५३ वटा औषधि–उद्योग सञ्चालनमा छन् । तीन सय ५० भन्दा बढी भारतीय कम्पनीका औषधि नेपालमा दर्ता छन् । नेपालका उद्योगीले करिब सय किसिमका औषधिमा आत्मनिर्भर भइसकेको दाबी गर्दै आइरहेका पनि छन् । यद्यपि, वास्तविक तथ्यांक भने नभएको औषधि व्यवस्था विभागको भनाइ छ ।
विभागका अनुसार गुणस्तरहीन औषधि बजारमा बिक्री–वितरण भइरहेको छ वा छैन वार्षिक योजनाअनुसार निरीक्षण हुने गर्छ । वार्षिक योजनाअनुसार नमुना संकलन गरी औषधिको परीक्षण गरिन्छ । तर, नेपालमा औषधि परीक्षणका लागि आवश्यक जनशक्ति, प्रविधि अभाव छ । औषधि परीक्षणका लागि मुलुकभर एक मात्रै प्रयोगशाला छ । राष्ट्रिय औषधि प्रयोगशाला नामको यो संस्था काठमाडौंको बबरमहलमा छ ।
शिवानी खड्गी
वरिष्ठ गुणस्तर नियन्त्रक तथा सूचना अधिकारी
राष्ट्रिय औषधि प्रयोगशाला
कसरी औषधि परीक्षण हुन्छ ?
सबैभन्दा पहिला औषधि व्यवस्था विभागबाट नमुना प्राप्त गरिन्छ । शंका लागेका औषधि निजी अस्पतालले पनि ल्याउँछन् । ती औषधि फर्माकोपिया (औषधिस्तर नियमावलीअनुसार रिकग्नाइज गरेको किताब) अनुसार औषधि परीक्षण गरिन्छ । किताबमा औषधि जस्तैः क्याप्सुल, ट्याब्लेट, सिरब्स, सस्सपेस के हो सोहीअनुसार परीक्षण विधि दिएको छ ।
कस्तो किसिमको परीक्षण
औषधि परीक्षण गर्ने फरक–फरक प्यारामिटर हुन्छन् ।
एउटा एस्य (assay) भन्ने हुन्छ । assay भनेको औषधिको परिणामात्मक मूल्यांकन विधि हो । जस्तै: एउटा प्यारासिटामोलमा ५०० एमजी छ भने त्यसमा ५०० एमजी छ कि छैन वा कति छ भनेर परिणामात्मक मूल्यांकन गरिन्छ ।
यतिदेखि यतिभित्र हुनै पर्छ भनेर फर्माकोपियामा सीमा तोकिएको हुन्छ । औषधिमा ५०० एमजी प्लस–माइनस, १० प्रतिशत वा २० प्रतिशत भनेर फर्माकोपियामा तोकिएको क्षेत्रअनुसार एउटा परीक्षण गरिन्छ ।
अर्को डिजोलुसन (Dissolution) भन्ने हुन्छ । डिजोलुसन भन्नाले हामीले औषधि खाइसकेपछि औषधि रगतमा मिसिनुअघि कति प्रभावकारी हुन्छ भनेर परीक्षण गरिन्छ । औषधि परीक्षणका यीलगायत प्यारामिटर परीक्षण गरिसकेपछि ठीक छ वा छैन त्यसअनुसारको रिपोर्ट तयार गरिन्छ ।
तर, सबै औषधि फर्माकोपियाभित्रै रहेर परीक्षण हुँदैन । यस्ता औषधिलाई नन–फर्माकोपियल प्रोडक्ट (Non- Pharmacopeia) भनिन्छ । यस्ता औषधिको परीक्षण गर्न Analytical method varidation committee छ । फर्माकोपियामा एउटा निश्चित विधि हुन्छ । तर, नन–फर्माकोपियल प्रोडक्टमा कम्पनीले आफैँ परीक्षण विधि तयार पार्छन् । त्यो परीक्षण विधि ठीक छ वा छैन भनेर कमिटीले हेर्छ । त्यसपछि मात्रै औषधि पास वा फेल भनेर रिपोर्ट बन्छ ।
नेपाल र भारतको औषधि परीक्षण विधि फरक छ ?
नेपालमै उत्पादन भएका औषधि र भारतबाट भित्रिएका औषधिको परीक्षण विधिमा कुनै फरक छैन । फर्माकोपिया भनेकै कुन औषधि कसरी परीक्षण गर्ने भन्ने हो । यहाँ इन्डियन फर्माकोपिया छ । भारतमा पहिचान भएका फर्माकोपियालाई आइपी भनिन्छ ।
यस्तै, ब्रिटिस फर्माकोपिया, युनाइटेड स्टेट फर्माकोपिया छ । तर, हालसम्म हाम्रो आफ्नै फर्माकोपिया छैन ।
यसकारण औषधि नियमावलीले जुन–जुन फर्माकोपिया पहिचान गरेको छ त्यसलाई मात्रै रिफर गरिन्छ । भारतीय उत्पादनलाई एउटा, नेपाली उत्पादनलाई एउटा विधि भन्ने हुँदैन ।
जस्तै, प्यारासिटामोल एउटा उत्पादन छ भने यसको परीक्षण विधि जहाँको उत्पादन भए पनि एउटै हुन्छ ।
प्रि–मार्केटिङ नभएर किन पोस्ट–मार्केटिङ ?
पहिला प्रि–मार्केटिङ (बजारमा जानुअघि नै औषधिको परीक्षण) हुन्थ्यो, जसलाइ प्रि–मार्केटिङ स्याम्पल भनिन्थ्यो ।
मार्केटिङ लाइसेन्स पाउनुअगाडि औषधि प्रयोगशालमा परीक्षण हुन्थ्यो । त्यसपछि मात्रै मार्केटिङ लाइसेन्स दिइन्थ्यो । पछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जिएपीको धारणा आइसकेपछि डब्लुएचओको प्रमाणीकरण हुनु भनेको नै कम्पनी आफैँमा सक्षम छ भन्ने बुझिन्छ ।
यस धारणाअनुसार प्रत्येक कम्पनीको आफ्नै प्रयोगशालमा हुनैपर्छ । त्यसैगरी हरेक ब्याच कम्पनीहरूले परीक्षण नगरी पठाउनुहुँदैन । कम्पनीले हरेक ब्याच परीक्षण गर्छ र पास भइसकेपछि मात्रै बजारमा पठाउने गर्छ । त्यसकारण बिस्तारै प्रि–मार्केटिङको धारणा हट्यो र पोस्ट–मार्केटिङको धारणा आयो । पोस्ट–मार्केटिङ औषधि व्यवस्था विभाग (डिडिए)ले गर्छ ।
विभागले नै विभिन्न नमुना संकलन गरेर आफ्नो हिसाबमा पठाउँछ । त्यसैले अहिले हामी यसैमा मात्रै समावेश छौँ ।
प्रि–मार्केटिङ गर्दैमा सबै औषधि ठीक छ भन्ने हुन्छ ?
प्रि–मार्केटिङमा त बजारमा जानुअगाडिको एउटा ब्याच मात्रै परीक्षण गरिन्छ । त्यसपछिको अर्को–अर्को ब्याचको त कसले ग्यारेन्टी गर्छ त ? सबै ब्याच परीक्षण गर्न सम्भव त हुँदैन । त्यसकारण कम्पनी आफैँले त्यसको ग्यारेन्टी गर्नुपर्यो । तर, ब्याच बजारमा गइसकेपछि पोस्ट–मार्केटिङबाटै परीक्षण हुने हो र त्यसबाटै कन्ट्रोल हुने हो ।
प्रि–मार्केटिङ गर्दैमा सबै औषधि ठीक छ भन्ने पनि हुँदैन । किनभने प्रि–मार्केटिङ गर्दा राम्रो ब्याच बनाएर यो ठीक छ भनेर मार्केटिङ लाइसेन्स पनि पाउन सक्ने भयो । तर, मुख्य मूल्यांकन पोस्ट–मार्केटिङबाटै हुन्छ । कम्पनीहरूले निरन्तर ब्याच पठाइरहेका छन् । उपभोक्ताले पनि खाइरहेका छन् । यसको कन्ट्रोल हुन सके मात्रै औषधिको स्तर थाहा पाउन सकिन्छ ।
औषधि कम्पनीको प्रयोगशाला निरीक्षण हुन्छ ?
वार्षिक योजनाअनुसार सबै औषधि कम्पनीको औषधि प्रयोगशाला (ल्याब) निरीक्षण हुन्छ । नेपाल मेडिसिन ल्याबोरेटरी (एनएमएल)ले हालसम्म ३० वटा ल्याबको परीक्षण गरिसकेको छ । एनएमएलले ल्याबको मात्रै निरीक्षण गर्छ । तर, औषधि व्यवस्था विभागले कम्पनीको उत्पादन, ल्याबसहित सबैको निरीक्षण गर्छ ।
राष्ट्रिय औषधि प्रयोगशालाले वार्षिक ३० वटा ल्याबको निरीक्षण र अडिट गर्छ । सोही योजनाअनुसार कम्पनीहरूले कसरी परीक्षण गरिरहेको छ ? परीक्षणका लागि कस्ता प्रविधि छन्, जनशक्ति कस्तो छ ? हेरेर रिपोर्ट बनाइन्छ । रिपोर्ट विभागमा पठाइन्छ ।
गुणस्तरहीन औषधि कसरी पत्ता लगाउने ?
औषधि प्रयोगशालामा परीक्षण गरिसकेपछि मात्रै औषधि गुणस्तरहीन रहेको थाहा पाउने हो । त्यसपछि फेल भएको औषधिको रिपोर्ट विभागमा पठाइन्छ ।
निरीक्षणमा जाँदा नै कुनै औषधिपसलमा शंका लागेको औषधि, रङ नै परिर्वतन भएको औषधि, घाममा राखिएका औषधि ल्याएर परीक्षण गरिन्छ । त्यस्ता औषधि परीक्षणका क्रममा गुणस्तरहीन भेटिएपछि एनएमएलले विभागमा रिपोर्टिङ गर्छ ।
अर्को भनेको पोस्ट–मार्केटिङ सर्भिलेन्समार्फत विभागले नै पूर्वयोजनाअनुसारको सूची बनाएको हुन्छ । सूचीअनुसार नमुना संकलन गरेर प्रयोगशालामा ल्याइन्छ । सो नमुना परीक्षण गर्दा गुणस्तरहीन भेटिए त्यसको रिपोर्टिङ विभागमा पठाउँछौँ ।
औषधि परीक्षण गर्ने प्रविधि कस्तो ?
फर्माकोपियामा औषधि परीक्षण यस्तो मेसिनबाट गर भनेर उल्लेख हुन्छ । औषधि परीक्षण गर्ने विधि पनि हुन्छन् ।
अहिले बढी प्रयोग हुने भनेको हाई प्रेसर लिक्विड क्रोमाटोलोजी (एचपिएलसी) हो । यो एचपिएलसी हामीसँग छ । हामीसँग यस्ता नौवटा मेसिन छन् । दुईवटा पुराना प्रविधिमा आधारित छन् । यी खासै प्रयोग भएका छैनन् । बाँकी सातवटा आधुनिक छन् ।
जनशक्ति अभाव
राष्ट्रिय औषधि प्रयोगशालमा जम्मा ४० जनाको दरबन्दी छ । तर, यो पूरै बजारको औषधि परीक्षण गर्नका लागि अपुग हो । हाल प्रशासन र प्राविधिक गरेर २९ जना मात्रै छौँ । त्यसमा पनि टेक्निकल जनशक्ति अझै कम छ ।
औषधि परीक्षणको स्तर कस्तो छ ?
हामीसँग अहिले भएको परीक्षण विधि र प्रविधिमा सुधार भए अझै राम्रो हुन्थ्यो । जस्तै: यस वर्षदेखि हामीले एक्युडिटेसन (आइएसओ १७०२५ टेस्टिङ ल्याबोरेटरीलाई प्रमाणीकरण गर्ने विधि) को कोसिस गरिरहेका छौँ । एक्युडिटेसन भनेको हामीले निकालेको तथ्यांक ठीक छ भनेर प्रमाणीकरण गर्नु हो । एक्युडिटेसन भएमा नेपालको तथ्यांकलाई अन्तर्राष्ट्रियस्तरमा पनि प्रमाणीकरण हुन्छ ।
यस्तो गरेपछि एउटै ल्याबबाट आएको रिपोर्ट फरक–फरक हुँदैन । हामीले निकालेको डाटा विश्वसनीय छ भनेर प्रमाणीकरण हुन्छ । यस्तो गर्न सके औषधि परीक्षणमा अझै स्तरोन्नति हुन्छ । हामी यस वर्ष नै यसको प्रक्रियामा जाने तयारीमा छौँ । यसको दर्ता प्रक्रिया भइरहेको छ ।
प्रत्येक प्रदेशमा ल्याब आवश्यक छ
पानबहादुर क्षेत्री
वरिष्ठ औषधि व्यवस्थापक
नेपाल औषधि व्यवस्था विभाग
विदेशी औषधि के आधारमा प्रयोगमा ल्याइन्छ ?
हामी पोस्ट–मार्केटिङ सर्भिलेन्स मात्रै नभएर प्रि–मार्केटिङ सर्भिलेन्स पनि गर्छौँ । बजारमा जानुअगाडि औषधिको परीक्षण गरिन्छ । स्वदेशी उत्पादक हुन् वा विदेशी, दुवै उत्पादक पहिला नै परीक्षण नभई बजारमा जाँदैन ।
नेपालमा आयात हुने औषधिको विश्लेषणात्मक रिपोर्ट पनि चाहिन्छ ।
साथै विभागले मान्यता दिएको वा तोकेको कुनै पनि ल्याबबाट परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्छ । परीक्षणका आधारमा ठीक छ भनेपछि मात्रै त्यो उत्पादनलाई मार्केटिङ गर्न अनुमति दिन्छौँ । त्यसपछि मात्रै मार्केटिङमा जान्छ ।
त्यसपछि हाम्रो पोस्ट–मार्केटिङ सर्भिलेन्स हुन्छ । वार्षिक योजनाअनुसार यस वर्ष यति नमुना परीक्षण गर्ने भन्ने हुन्छ । सोही कार्यक्रमअनुसार विभिन्न नमुना संकलन गरेर परीक्षण गरिन्छ । परीक्षणका क्रममा कुनै उत्पादन फेल भए बजारमा गइसकेका ती औषधि फिर्ता गरिन्छ ।
भारतीय उत्पादनलाई बढी प्राथमिकता दिएको भन्ने छ नि ?
नेपालको उत्पादनभन्दा भारतीय उत्पादनलाई परीक्षणका क्रममा बढी प्राथमिकता दिएको भन्नु भ्रम हो ।
हाम्रो प्रणालीअनुसार कुनै औषधि दर्ता गर्दा ती पार्टीले तेस्रो पार्टीबाट गर्दा पनि हुन्छ । निजीबाट पनि विश्लेषणात्मक परीक्षण गरिन्छ । यसकारण कुनै विदेशी कम्पनीले वा नेपाली कम्पनीले छिटो हुन्छ भनेर निजी ल्याबमा परीक्षण गर्छन् ।
औषधि व्यवस्था विभागले भने औषधि प्रयोगशालामा कुनै नयाँ औषधिको विश्लेषणात्मक मूल्यांकन विधि प्रमाणीकरण गर्छ ।
औषधि परीक्षणमा जनशक्तिको अवस्था कस्तो छ ?
औषधि परीक्षणमा जनशक्ति अभाव छ । जनशक्ति बढाएर औषधिको नमुना संख्या संकलन गर्न आवश्यक छ । जनशक्ति बढाएर परीक्षण गर्न सकेमा औषधिको विश्वासनीयता बढ्थ्यो ।
नमुना परिमाणात्मक रूपमा जति बढाउन सक्यो वा हरेक वर्ष नवीकरण हुने उत्पादनको केही नमुना परीक्षण गर्न सकियो भने औषधिको परीक्षणको गुणस्तर झनै बढ्छ ।
औषधि परीक्षण प्रयोगशाला पर्याप्त छ ?
नेपालमा औषधि परीक्षण प्रयोगशालासमेत अभाव छ । प्रत्येक प्रदेशमा एक–एक वटा ल्याब आवश्यक छ । कम्तीमा पनि प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्न सके औषधि परीक्षण अझै स्तरीय हुन्थ्यो ।
सबै परीक्षण गर्न नसकिए पनि सामान्य प्यारामिटर परीक्षण गर्ने किसिमको ल्याब स्थापना हुन सक्यो भने औषधिको गुणस्तर यकिन गर्न सकिन्थ्यो । त्यस्ता ल्याबलाई रिफरेन्स ल्याबरोटरीका रूपमा विकास गर्ने पनि सकिन्छ । यसरी विकास गर्न सके स–साना प्यारामिटर परीक्षण केन्द्रको प्रयोगशालामा गर्नुपर्दैन ।
उच्चस्तरको प्यारामिटरको परीक्षण मात्रै यहाँ गर्न सकिन्थ्यो । तर, नेपालमा हालसम्म एउटै औषधि प्रयोगशाला छ । अहिले जिम्मेवारी ठूलो, तर जनशक्ति र प्रविधि अभाव छ । नयाँ प्रविधि भित्रिएका त छन्, तर पर्याप्त छैन । जस्तै, बायोलोजिकल भ्याक्सिनलाई हामी परीक्षण गर्न सक्दैनौँ किनभने हामीसँग बायोलोजिकल सेक्सन छैन । विदेशीले प्रमाणीकरण गरेको कागजातका आधारमा मान्नुपर्ने अवस्था छ । उनीहरूले दिएको डकुमेन्टका आधारमा लट फिनिस गर्नुपर्नेछ ।
नेपाली नामका विदेशी नक्कली औषधि भित्रिरहेका छन्
शंकर घिमिरे
पूर्वअध्यक्ष, नेपाल औषधि उत्पादक संघ (एप्पोन) तथा एसियन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक
नेपालका औषधि उद्योगहरूमा औषधि परीक्षणका लागि आधुनिक प्रविधि भित्रिसकेका छन् । एउटै मेसिनलाई ७० लाखदेखि एक करोडसम्म पर्छ । टप कम्पनीहरूमा एचपिएलसी मेसन मात्रै १० देखि १२ वटा छन् । अन्य स–साना कम्पनीमा कम्तीमा एउटा छन् ।
नेपाली औषधि कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै औषधि परीक्षण गर्छन् । औषधि उत्पादन गरिसकेपछि परीक्षण गरेर ६ महिना कम्पनीमै राखिन्छ । ६ महिनासम्म औषधिको रङ जान्छ कि जाँदैन लगायत प्यारामिटर हेरिन्छ । परीक्षणका क्रममा सबै प्यारामिटर ठीक छ भनेपछि मात्रै हामी विभागमा पठाउँछौँ ।
म र मेरो परिवारसहित अधिकांशले नेपाली उत्पादन नै प्रयोग गर्दै आइरहेका छौँ । हामी ७० देखि ७५ प्रतिशतसम्म औषधिमा आत्मनिर्भर हुन सक्छौँ । सरकारले यसका लागि नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । नेपालमा राम्रो कम्पनीको नाममा भारतबाट विभिन्न किसिमका नक्कली औषधि भित्रिरहेका छन् । खुला सिमानाका कारण भित्रिरहेका गुणस्तरहीन औषधि सरकारले निरीक्षणसमेत गर्न भ्याएको छैन । यसमा सरकारको ध्यान जान जरुरी छ ।
उमेशलाल श्रेष्ठ
पूर्वअध्यक्ष, नेपाल औषधि उत्पादक संघ (एप्पोन)
औषधि परीक्षणजस्तो जटिल प्रक्रिया मनलाग्दी हुँदैन । विभिन्न प्यारामिटिरभित्र रहेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधि परीक्षण हुन्छ । यो छोटो समयमा सामान्य तरिकाले हुने होइन । जसका लागि विभिन्न प्रक्रिया, विधि पुर्याउनुपर्ने हुन्छ ।
औषधि स्तर नियमावली, २०४३
औषधिको स्तर निर्धारण गर्ने
(१) कुनै औषधिको स्तर र परीक्षण वा विश्लेषण विधि नियम ४ र ५ बमोजिमका संग्रह वा ग्रन्थहरूमा उल्लेख नभएको खण्डमा त्यस्तो औषधि जनसुरक्षित, असरयुक्त, गुणयुक्त छ–छैन वा त्यस्तो औषधिको परीक्षण वा विश्लेषणका लागि अपनाइने विधि ठीक छ छैन भनी यकिन गर्न चाहेमा सो सम्बन्धमा विभागले औषधि सल्लाहकार समितिको परामर्श लिन सक्नेछ र सो समितिबाट दिइएको परामर्शसमेतका आधारमा विभागले त्यस्तो औषधिको स्तर र तत्सम्बन्धी परीक्षण वा विश्लेषण विधि निर्धारण गर्नेछ ।
(२) कुनै औषधिको स्तर नेपाल आधिकारिक औषधि संग्रह वा तत्सम्बन्धी ग्रन्थ वा अनुसूची–१ बमोजिमको कुनै औषधि संग्रह वा ग्रन्थमा उल्लेख नभएका कारण निर्धारण हुन नसक्ने भएमा औषधि उत्पादन गर्ने व्यक्तिले त्यस्तो औषधिको स्तर निर्धारण गराउन विभागमा अनुसूची–२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो औषधिको स्तर निर्धारण गर्ने सम्बन्धमा विभागले औषधि सल्लाहकार समितिको परामर्श लिन सक्नेछ र सो समितिबाट दिइएको परामर्शसमेतका आधारमा विभागले त्यस्तो औषधिको स्तर निर्धारण गर्नेछ ।
(४) उपनियम (३) बमोजिम औषधिको स्तर निर्धारण गर्दा सो औषधिको परीक्षण वा विश्लेषणका लागि कुनै वैज्ञानिक तथा प्राविधिक विधिहरू पनि निर्धारण हुनुपर्ने आवश्यक देखेमा विभागले सो सम्बन्धमा औषधि सल्लाहकार समितिको परामर्श लिई त्यस्ता विधिसमेत निर्धारण गर्नेछ ।
(५) नेपालमा पैठारी हुने कुनै औषधिको स्तर निर्धारण गर्दा विभागले त्यस्तो औषधि पैठारी गर्ने व्यक्ति वा संस्थासँग त्यस्तो औषधिको स्तर वा स्तर निर्धारण विधि माग गरेमा सो व्यक्ति वा संस्थाले सो औषधिको स्तर वा स्तर निर्धारण विधि विभागसमक्ष पेस गर्नुपर्नेछ ।
औषधिको स्तर तथा परीक्षण वा विश्लेषण विधिहरू कार्यान्वयन गर्ने
(१) नियम ६ बमोजिम कुनै औषधिको स्तर र सो औषधिको परीक्षण वा विश्लेषणका लागि अपनाउनुपर्ने विधि निर्धारण भएपछि विभागले त्यस्तो औषधिको स्तर र परीक्षण वा विश्लेषण विधि कार्यान्वयन गर्न पर्नेछ ।
(२) उपनियम (१) बमोजिम औषधिको स्तर परीक्षण वा विश्लेषण विधि कार्यान्वयन गर्दा देखिन आएका समस्याहरूका सम्बन्धमा विभागले औषधि सल्लाहकार समितिको परामर्श लिन सक्नेछ र सो समितिबाट दिइएको परामर्श समेतको आधारमा विभागले त्यस्तो औषधिको परीक्षण वा विश्लेषण विधि कार्यान्वयन गर्नेछ ।