यसकारण देशभर फैलिरहेको छ डेंगु संक्रमण...

काठमाडौं, १२ भदौ । संक्रामक रोग नियन्त्रणका लागि सरकारले देशभरका २२ जिल्लामा भेक्टर कन्ट्रोल निरीक्षकको व्यवस्था गरेको थियो । कर्मचारी समायोजनसँगै यी भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दी कहाँ हुने भन्ने अस्पष्टताले देशभर डेंगु लगायतका संक्रामक रोग फैलिरहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासनीका अनुसार संघीय संरचनामा मुलुक जानुभन्दा अघि तराईका २२ जिल्ला सहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा भेक्टर कन्ट्रोल निरिक्षकको व्यवस्था थियो । साथै पाँचै वटा क्षेत्रीय निर्देशनालयमा एक एक जानको दरबन्दी पनि थियो । यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ३ जनाको दरबन्दी रहेको थियो । तर, अहिले यो दरबन्दिका कर्मचारी फाजिल छन् । समायोजनले उनीहरु जिम्मेवारी विहीन बनेका छन् । जसका कारण संक्रामक रोग देशभर फैलिरहेको डा.मरासनी बताउँछन् ।
भेक्टर कन्ट्रोल निरीक्षकको जिम्मेवारी
निरिक्षकहरुले गाँउ गाउँमा डेंगुका बिरामी देखिन साथ सिडिसि ट्रयाप राखेर लामखुट्टे नष्ट गर्ने गर्थे । मरासनीका अनुसार निरीक्षकहरुले बिरामीको तथ्यांक संकलन पनि गर्थे । जसले उपचार प्रक्रिया छिटो र प्रभावकारी हुन्थ्यो । तर अहिले समायोजनले यो काम गर्नेलाई काम विहीन बनाएको छ ।
लामखुट्टे मार्ने विषादी छर्न जो कोहिले मान्दैन । जसका कारण पनि भेक्टर कन्ट्रोल निरिक्षकको विकल्प छैन ।
डेंगु नियन्त्रणमा मन्त्रालयको आलटाल
स्वास्थ्य मन्त्रालयले एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने बताएको छ । स्वास्थ्य मन्त्रालयले मात्रै डेंगु नियन्त्रण गर्न नसक्दा अरु मन्त्रालयसँग पनि समन्वय गर्नका लागि पहल सुरु गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सचिव डा.पुष्पा चौधरी र प्रवक्ता महेन्द्र श्रेष्ठले देशैभर फलिएको डेंगु नियन्त्रण स्वास्थ्यले मौत्र नियन्त्रण गर्न नसकेको स्वीकार गरे ।
डेंगु नियन्त्रणबारे भएको छलफलमा प्रवक्ता श्रेष्ठले डेंगु नियन्त्रण चुनौतिपूर्ण रहेको बताए ।
यो वर्ष भाद्र ११ गतेसम्म ४ हजार ९ सय ६२ जनामा डेंगु देखिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । साथै डेंगु नियन्त्रणकालागि खोज र नष्ट गर अभियान ८५ वटा स्थानीय तहमा सञ्चालनि गरिएको पनि महाशाखाले जनाएको छ । तर, पनि डेंगु नियन्त्रण हुन सकेको छैन् । साथै किट तथा किटजन्य रोग नियन्त्रणका लागि ६ करोड १७ लाख विनियोजन भएको छ । तर, बजेट खर्च र खोज र नष्ट गर अभियानको प्रभावकारीतामा भने प्रश्न उठेको छ ।