प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, उपचार प्रक्रिया एक साता लम्बिने

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए ।
दाहालका अनुसार कुराकानीमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ अवस्था ठिक रहेको र आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकहरूलाई सन्देश पठाएका छन् ।
प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ता भित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी समेत गराएको दाहालले बताए ।
प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाले बताएका छन् ।
प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा केही बढी देखिएपछि त्यसलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपाचार विधिलाई निरन्तरता दिन उनी सिंगापुर गएका हुन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि स्वदेश फर्किएका उनी भदौ ५ गते पुनः उपचारका लागि सिंगापुर गएका हुन् ।