स्वास्थ्यका लागि खेलकुद, तर खेलाडीकै स्वास्थ्य...
काठमाडौं, ११ भदौ । नेपालमा झन्डै दुई सय विधाका खेल खेलिन्छ । दुई सय विधाका खेल खेल्ने खेलाडीको संख्या यकिन नभए पनि राष्ट्रिय खेलकुद परिषद्का अनुसार करिब एक लाख खेलाडी आबद्ध छन् ।
नेपालमा मुख्यगरी फुटबल, क्रिकेट, कराते, कबड्डी, सुटिङ, भारत्तोलन, एथलेटिक्ससहित केही चर्चित खेललाई प्राथमिकतामा राखिएको छ । तर, यी विधामा समेत कति खेलाडी छन् भन्ने पनि तथ्यांक सरकारसँग छैन ।
नेपाललाई विश्वमा चिनाउने माध्यमका रूपमा खेललाई लिने गरिन्छ । स्वास्थ्यका लागि खेलकुद भनेर सरकारले नारा तय गरे पनि खेलाडीको स्वास्थ्यका लागि खासै ध्यान दिन नसक्दा समग्र खेल क्षेत्र नै प्रभावित हुँदै गएको छ ।
सरोज सिंह, पूर्वखेलाडी, कबड्डी
सरकारका तर्फबाट खेलाडीका लागि खासै केही व्यवस्था छैन । खेल क्षेत्रमा लागेको झन्डै २० वर्ष भइसक्यो । तर, कहिले पनि चोटपटक लागेमा वा बिरामी भएमा त्यसको उपचार खर्चसमेत पाइएन । अहिले पनि कतिपय खेलाडीलाई प्रशिक्षण दिने क्रममा उनीहरू घाइते हुने, बिरामी हुने गर्छन्, तर कसैले उपचार खर्च पाउँदैनन् ।
राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदा प्रतियोगिता अवधिभर मात्रै खेलाडीको उपचार खर्च सरकारले व्यहोर्ने वा सम्बन्धित संघले व्यहोर्ने गरेको छ । तर, खेल खेलेर फर्किसकेपछि उनीहरूको स्वास्थ्यबारे कसैले कुनै चासो राख्दैन ।
जो आर्थिक रूपले सक्षम छ उसले आफ्नो उपचार गराउन सक्छ, तर जसको आर्थिक अवस्था कमजोर छ उसलाई उपचार गराउन समस्या हुने गरेको छ । पूर्वखेलाडी वा वर्तमान खेलाडीको स्वास्थ्यलाई बेवास्ता गर्दा नै होला नेपालले खेल क्षेत्रमा आफूलाई राम्रो पहिचान दिलाउन सकेको छैन ।
वीरेन्द्र कर्ण, सितोरियो कराते, अन्तर्राष्ट्रिय रेफ्री
झन्डै २० वर्षपहिले काठमाडौंमा आयोजना भएको खेलमा सहभागी भएर जनकपुर फर्कंदै थिएँ । गाडी दुर्घटनामा प¥यो, मेरो ६ वटा करङ भाँचियो । उपचार गराउने पैसासमेत थिएन । जेनतेन सापटी मागेर उपचार गराएँ ।
यो एकपटक भएको घटना हो । यस्ता अनेक परिस्थिति आउँछ जब खेलाडीलाई गहिरो चोट लाग्छ, ऊ बिरामी हुन्छ, उसलाई उपचार खर्च दिने कोही हुँदैन । यिनै र यस्तै कारणले नेपालको खेल क्षेत्र अघि बढ्न सकेको छैन । किनकि नेपाली खेलकुदलाई बुझिदिने न मन्त्री नै आएका छन् अहिलेसम्म, न त खेलाडी र खेल क्षेत्रको विकास गर्ने नेतृत्व कुनै संघमा पदाधिकारी आएका छन् ।
खेलाडीको सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय स्वास्थ्य नै हो । स्वस्थ रहनका लागि नै खेलकुद हुन्छ । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने खेलाडीको अभ्यास र खेलकै समयमा पनि खाना र खाजा दिँदा सुक्खा चाउचाउ, एउटा स्याउ र केरा दिने गरिन्छ । जसले गर्दा उनीहरूको खेलमा नराम्रो प्रभाव पर्छ ।
खेलाडीलाई राम्रो प्रदर्शनका लागि उसको खानपान र पोषणमा ध्यान दिनु आवश्यक हुन्छ । साथै नियमित स्वास्थ्य जाँच गराउनु पनि आवश्यक हुन्छ । तर, नियमित स्वास्थ्य जाँच गराउन खेलाडीसँग आर्थिक अभाव हुन्छ भने पोषणयुक्त खाना घरमा मात्रै खाने तर बाहिर प्रतियोगितामा जाँदा कुनै व्यवस्था नै हुँदैन । यसकारण पनि नेपालका खेलाडीको प्रदर्शन कमजोर हुन्छ ।
न सरकारले मासिक पारिश्रमिक दिने गरेको छ, न त अन्य कुनै आर्थिक सहयोग नै हुन्छ । जसले गर्दा खेल क्षेत्रमा मानिसहरू आउन चाहँदैनन् । जेनतेन खेलाडीले आफ्नो स्वास्थ्यको ख्याल गरेर नेपालको खेल क्षेत्र धानेको पाइन्छ ।
तुषार बुढामगर, भारत्तोलन, बाँके
भारत्तोलन खेल्न थालेको चार वर्ष भयो । भारत्तोलनको काम भारी उचाल्नु हो । जुन निकै कठिन हुन्छ । भारी उचाल्ने क्रममा जोर्नीमा दुखाइ भयो भने सरहरूले दिने पेनकिलन खाएर खेल खेल्ने हो ।
गहिरो चोट लागेका वेला खेल्नै पाइँदैन । पेनकिलरले काम गरे पनि नगरे पनि खेल्न जानुपर्ने बाध्यात्मक परिस्थिति हुन्छ । त्यसवेलामा खेल्दा राम्रो प्रदर्शन गर्न सकिँदैन । जसले गर्दा मानसिक रूपमा तनाव हुने गर्छ ।
बाँके खेलकुद संघबाट म विभिन्न प्रतियोगिता खेल्ने गर्छु । तर, संघबाट पनि खासै हामीलाई उपचार भनेर खर्च वा सहुलियत वा सेवासुविधा दिँदैन । सरहरू भन्नुहुन्छ त्यस्तो कुनै व्यवस्था नै छैन । आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपाल प्रहरी, नेपाल आर्मी वा अन्य फुटबल संघ–संगठनले आफ्नो खेलाडीको स्वास्थ्यका लागि छुट्टै अस्पताल, चिकित्सकको व्यवस्था गरेको छ । नेपाल प्रहरीका अनुसार खेल क्षेत्रको विकासका लागि प्रहरी अस्पताल बनाइएको छ भने उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर बजेटअनुसारको पारिश्रमिक पनि दिइने गरिएको छ । यस्तै नेपाल आर्मीले पनि अस्पताल गठन गरेको छ भने खेलाडीलाई नियमित स्वास्थ्य जाँच गराउने, खानपानमा ध्यान दिने गरेको छ ।
रमेशकुमार सिलवाल, सदस्यसचिव, राष्ट्रिय खेलकुद परिषद्
हालसम्म खेलाडीका लागि भनेर सरकारले बजेट छुट्याएको छैन । तर, राष्ट्रियस्तरका खेलाडीका लागि भने खेल अवधिभर स्वास्थ्य बिमा गर्ने गरिएको छ । जस्तै हुन लागेको साफ प्रतियोगितामा सहभागी हुने खेलाडीको खेल अवधिभरका लागि स्वास्थ्य बिमा गरिएको छ ।
सबै खेलाडीको स्वास्थ्यको जिम्मा लिन सम्भव छैन । किनकि नेपालमा अहिले कति खेलाडी छन् भन्ने यकिन तथ्यांक छैन भने अर्कोतर्फ खेल क्षेत्रमा बजेट अभावका कारण पनि खेलाडीको स्वास्थ्य जाँचमा खर्च गर्न सम्भव छैन । तर, आगामी दिनमा केन्द्रीयस्तरको खेलाडीका लागि अस्पताल बनाउने योजनामा छौँ । सबै प्रदेशका सरकारले पनि आफ्नो योजनामा अस्पताल र अन्य स्वास्थ्यसम्बन्धी योजना समेट्दा राम्रो हुन्छ ।
खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर यस वर्षको नीति तथा कार्यक्रममा सबै खेलाडीको स्वास्थ्य बिमा गर्ने भनिएको छ । अबको केही समयपछि खेलाडीको तथ्यांक संकलनको काम हुन्छ र स्वास्थ्य बिमा गरिन्छ । त्यसका लागि सबै जिल्लाका संघहरूसँग समन्वय गरेर काम अघि बढाइनेछ ।