डडेल्धुराको परशुराममा फैलिएको ‘हैजा’ १५ दिनपछि नियन्त्रणमा

डडेल्धुरा, १० भदौ । डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीमा महामारीको रुपमा फैलिएको ‘हैजा’ को प्रकोप १५ दिनपछि नियन्त्रणमा आएको छ ।
जिल्लाको भित्रि क्षेत्रमा पर्ने परशुराम नगरपालिको वडा नम्बर ८ सानखोला, धादलीफाँटा र गोप्तेगाडा गरि तिन गाउँका ८९ जना हैजाका कारण प्रभावित भएका छन् । साउन २६ गते एक जनामा भेटिएको झाडापखला विस्तारै हैजाको रुप लिएपछि १५ दिनमा तीन गाउँका ८९ जनामा हैजा भेटिएको सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवले बताए ।
उनले भने, ‘साउन २६ गते एक जनामा देखिएको हैजा १५ दिनपछिको जनचेतनामुक कार्यक्रम गरि नियन्त्रणमा आएको छ । भदौ ८ गतेपछि एक जनापनि बिरामी आएका छैनन् ।’
अहिले यस क्षेत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटी, स्वास्थ्य कार्यालय डडेल्धुरा, परशुराम स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाका गरि १६ जना भन्दा बढी स्वास्थ्यकर्मी परिचालित रहेको परशुराम नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द बोहराले बताए ।
‘सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार तथा जनचेतनामुलक कार्यक्रमसहित घर–घरमा पुगेका छन् ।’ अध्यक्ष बोहराले भने ।
८५ जना बिरामी भेटीएपछि सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराको नेतृत्वमा प्रदेशको स्वास्थ्यकर्मी सहितको टोली र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलको नेतृत्वमा एक टोलि हैजा प्रभावित क्षेत्रमा पुगेर आवश्यक छलफलपछि थप स्वास्थ्यकर्मी परिचालन गरेको थियो ।