कर्मचारी समायोजनका कारण कास्कीका अस्पतालमा पनि चिकित्सक अभाव

कास्की, ३ भदौ । सरकारले गरेको कर्मचारी समायोजनका कारण मुलुकका विभिन्न अस्पतालमा कर्मचारी अभाव हुन थालेको गुनासो बढेको छ ।
संघीय संरचनामा कर्मचारीको व्यवस्थापनका लागि भन्दै गरिएको कर्मचारी समायोजनका कारण कास्किको एक मात्र मातृशिशु अस्पतालमा पनि चिकित्सक अभाव भएको हो ।
समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि कर्मचारीकै अभावमा जिल्लाको एक मात्र मातृशिशु मितेरी अस्पलातमा चिकित्सक अभाव हुँदा सर्वसाधारण समस्यामा परेका हुन् ।
समायोजनपछि स्वास्थ्य मन्त्रालयले डाक्टरहरुको पदस्थापन गरेसँगै उक्त अस्पतालमा विशेषज्ञ डाक्टरहरुको अभाव भएको हो । अस्पतालमा कार्यरत चिकित्सकलाई अन्यत्र पदस्थापन गर्ने र रिक्त रहेको पदमा नयाँ कर्मचारी नपठाउने गरेकाले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको जनाइएको छ ।
चौविसै घण्टा सञ्चालित क्षयरोग मैत्री उपचार केन्द्रमा बिरामीको चाप बढेपनि चिकित्सकको अभावमा बिरामीले उपचार पाउन सकेका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकको अन्यत्र पदस्थापन भएको र लामो समयसम्म पनि उक्त पद खालि रहँदा बिरामीलाई उपचार दिन समस्या भएको हो ।
विगत सात वर्ष देखि सञ्चालित २५ शय्याको अस्पतालमा लमजुुङ, तनहु, बाग्लुङ, पर्वत, गोरखा लगायतका जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने गर्छन् ।
गण्डकी प्रदेशकी सामाजिक विकाश मन्त्री नरदेवी पुनले आफु यो विषयमा जानकार रहेको भन्दै स्वास्थ्य मन्त्रालयमा चिकित्सकको माग गरिएको बताइन् । उनले भनिन्, ‘यो विषयमा मन्त्रालयमा पनि छलफल भइरहेको छ र अब केन्द्र र प्रदेश सरकारबाट खोलाइने लोकसेवा आयोगबाट मात्रै समस्या समाधान हुन सक्ने जवाफ आएको छ ।’