एक्सरे मेसिन बिग्रिदा एक वर्षदेखि सेवा ठप्प



Download our app to get more features

डडेल्धुरा, १ भदौ । कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा झण्डै एक वर्षदेखि एक्सरे सेवा बन्द रहेको छ । गोदावरी नगरपालिकाका मातहत रहेको यस क्षेत्रकै पुरानो सरकारी अस्पताल मालाखेती अस्पतालमा रहेको एक्सरे मेसिन बिग्रएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन नसक्दा एक्सरे सेवा बन्द रहेको हो ।

अस्पतालबाट सहुलियत रुपमा पाउँदै आएको एक्सरे सेवा बन्द भएपछि अस्पतालमा पुग्ने बिरामीहरु मर्कामा परेका छन् । सरकारी अस्पताल भनेर गोदावरी नगरपालिकासंगै रहेको कञ्चनपुरको कृष्णपुर नगरपालिकावाट समेत उपचारका लागि अस्पतालमा पुग्ने विरामीहरु अहिले एक्सरे गराउन निजी स्वास्थ्य संस्थामा जान बाध्य रहेका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिवराज पनेरुका अनुसार अहिले अस्पतालमा दुई वटा एक्सरे मेसिन रहेपनि दुवै प्रयोगविहिन रहेका छन् । ‘अस्पतालको सामान बिग्रएपछि मर्मतका लागि भनेर हामीले अनुरोध पत्र लेख्ने हो’ उनले भने – ‘एक्सरे मेसिन बिग्रएपछि हामीले नगरपालिकालाई खबर गर्यौ, नगरपालिकाले ध्यान दिनुपर्ने हो अहिले सम्म केहि भएको छैन ।’

उता गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर खड्काले बन्द अवस्थामा रहेको एक्सरे सेवालाई निरन्तर सुचारु गर्नका लागि नगरपालिकाले पटक पटक अस्पताल प्रशासनलाई निर्देशन दिएको बताए । उनले बन्द अवस्थामा रहेको एक्सरे सेवालाई सुचारु गर्ने विषयलाई आफुले सबैलाई जानकारी गरासकेको र अबको केहि दिनमै सेवा पुर्ण रुपमा सुचारु गरिने बताए ।

अस्पतालमा अनिवार्य हुनुपर्ने इमर्जेन्सी सेवा नहुँदा गम्भीर प्रकृतिका विरामी आएमा अन्यत्र रेफर गर्ने गरिएको छ । अस्पतालको अन्य सेवा बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म मात्रै सञ्चालन हुने गर्दछ । स्थानिय सरकार मातहत आएपछि केहि सुधार हुने आशा गरिएपनि सेवा चुस्त दुरुस्त बनाउन नसक्दा मालाखेती अस्पतालको अवस्था पछिल्लो समय झन–झन नाजुक बन्दै गएको छ ।
 

Last modified on 2019-08-20 06:54:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts