भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको 'हस्तक्षेप', पुरानो व्यवस्थापन समिति अदालत जाने



Download our app to get more features

काठमाडौं, ३२ साउन । भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार बढेको भन्दै भक्तपुर नगरपालिकाले मौजुदा अस्पताल व्यवस्थापन समिति भंग गर्दै नयाँ गठन गरेपछि पुराना समितिका पदाधिकारी अदालत जाने भएका छन् । 

राजधानीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ लगायत सात जना पदाधिकारीले अदालत जानुपर्ने अवस्था आएको बताएका हुन् । भक्तपुर नगरपालिकाले अस्पताल व्यवस्थापनसँग कुनै छलफल नै नगरी केही पदाधिकारीलाई लाञ्छना लगाउने प्रयत्न गरेको उनीहरुको दावी छ ।  लामो प्रयत्नपछि क्यान्सर बिरामीलाई रेडियोथेरापी गराउने लिन्याक मेशिन सञ्चालन गर्न लागेको बेला त्यसलाई विथोल्न केही कर्मचारीको कपोलकल्पित कुरालाई आधार मानी नगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरेको समितिका सदस्या विमल कुमार होडाको भनाइ छ । 

उनले भने, 'लिन्याक मेशिन सञ्चालन गरेर सुलभ रुपमा नेपालमै क्यान्सरको उपचार गरेर विरामी विदेश जानबाट रोक्ने अवस्था आएपछि माफियाहरुको ईशारामा अस्पतालमा हस्तक्षेप भएको आशंका उब्जिएको छ । यसबाट हामी विचलित नभई नगरपालिकासँग छलफल गरेर समाधान गर्छौं ।' मौजुदा व्यवस्थापन समिति यथावत र कार्यरत रहेको भन्दै अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले नगरपालिकाले बिना छलफल हस्तक्षेप गर्नु दुर्भाग्यपूर्ण भएको बताए । गैरनाफामूलक संस्थाको छातामा रहेर सञ्चालित स्वायत्त संस्थामा नगरपालिकाले हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको उनको जिकिर छ । 

अस्पतालमा भ्रष्टाचार मौलाएको भन्दै कर्मचारीहरुले युनियन खडा गरेर नगरपालिकामा गएपश्चात अस्पतालको पुरानो व्यवस्थापन खारेज गरेर नगरपालिकाले मेयरको संयोजकत्वमा नयाँ व्यवस्थापन समिति बनाएको हो । नयाँ र पुरानो गरी दुईवटा व्यवस्थापन समिति भएसँगै अस्पताल राजनीतिक थलो जस्तो बनेको छ । अस्पताल क्यान्सर रोग रोकथामको गैरसरकारी संस्था नेपाल अर्बुद रोग निवारण संस्थाले सञ्चालन गरेको हो । 
 

Last modified on 2019-08-19 08:21:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts