समायोजनपछि चिकित्सकविहीन हुने अवस्थामा सुदूरपश्चिमका अस्पताल



Download our app to get more features

डडेल्धुरा, ३१ साउन । कर्मचारी समायोजनपछी सुदूरपश्चिम प्रदेशका अस्पताल चिकित्सकविहिन हुने अवस्थामा पुगेका छन् । समायोजनपछि स्वास्थ्य मन्त्रालयले डाक्टरहरुको पदास्थापन गरेसंगै सुदूरपश्चिमका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ । कर्मचारी समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि सुदूरपश्चिमका अस्पतालहरु विशेषज्ञ डाक्टरविहीन बन्न थालेका हुन् । 

सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा भने अन्यत्रबाट एक जना मात्रै विशेषज्ञ डाक्टरको पदस्थापन हुने सूचि प्रकाशन भएको छ । प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुरा अस्पताल डडेल्धुरामा विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि सबै रिक्त रहेको छ । यस अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा १३ जना मात्र मेडिकल अफिसर थिए । 

तर अब समायोजनपछी दरबन्दीका तिन जना मेडिकल अफिसर र २ जना करारमा रहेका चिकित्सक मात्र रहेको अस्पतालको मेसुको जिम्मेवारी पाएका डाक्टर जितेन्द्र कंडेलले जानकारी दिए । 'भएका चिकित्सक समायोजन पछी गइसके, अस्पताल सञ्चालन गर्न नै मुस्किल भएको छ' उनले दुखेसो पोखे, 'अब त अल्ट्रासाउण्ड र अपरेशन थ्रेटरको सेवा नै ठप्प होला जस्तो छ ।

त्यस्तै प्रदेश मातहतका रहेका सेती अस्पताल र महाकाली अस्पतालमा पनि ९ औँ तहभन्दा माथिका अर्थात विशेषज्ञ डाक्टरहरु रहेकोमा अधिकासं डाक्टरहरुको पदस्थापन प्रदेश बाहिरका अस्पतालमा भएको छ । समायोजनपछि पदस्थापन अब तीन जना विशेषज्ञ डाक्टर मात्रै सेती अस्पतालमा बाँकी रहेका छन् । सोही क्रममा सेती अस्पतालमा नाक, कान र  घाटी (इएनटी) उपचार सेवा ठप्प भइसकेको छ । अस्पतालमा नाक कान घाटी विभाग हेर्दै आएका डाक्टर अशोक श्रीपाईलीको भेरी अस्पतालमा पदस्थापन भएपछि १५ गतेदेखि नै उक्त विभाग बन्द अवस्थामा रहेको छ ।

उता महाकाली अस्पतालमा भने तीन जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा दुई जनाको प्रदेश बाहिरका अस्पतालमा पदस्थापन भएको छ । स्थापनाकालदेखि नै भएकै दरबन्दी समेत नपाएको महाकाली अस्पतालले भएका डाक्टरको समेत अन्यत्र पदस्थापन भएपछि सेवा सचालनमै मुस्किल हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताउँछन । 
त्यस्तै कर्मचारी समायोजन भएसंगै जिल्ला अस्पताल बैतडी पनि चिकित्सक विहिन हुने भएको छ । अस्पतालका प्रमुख डा. जगदीशचन्द्र बिष्टको संघमा समायोजन भएपछि जिल्ला अस्पताल चिकित्सविहिन हुने अवस्थामा पुगेको हो । 

दुईजना करारका मेडिकल अधिकृतको पनि समयावधि सकिन लागेको र आफ्नो पनि संघमा समायोजन हुनेभएपछि जिल्ला अस्पतालमा समस्या आउने डा. बिष्टले बताएका छन् । करीब एक बर्ष यता जिल्ला अस्पतालमा दरबन्दीका स्टाफ नर्स छैनन् । तीनजना स्टाफ नर्सको दरबन्दी भएपनि पदपूर्ती नहुँदा करारमा राखेर काम सञ्चालन गर्नुपरीरहेको डा. बिष्टले बताए । 

प्रदेश सरकारले अस्पतालमा रहेको डाक्टरको पदपुर्तीका लागि बजेट त विनियोजन गरेको छ तर प्रक्रिया अगाडी बढाउन सकेको छैन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगनवहादुर हमालले अर्को विकल्प नहुँदा सम्म यस क्षेत्रबाट अन्यत्र डाक्टर नलैजान स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बताए। 

चिकित्सकहरुको समायोजन भएपछि सामान्य सेवाका लागि पनि अन्यत्र धाउनुपर्ने बाध्यता आउन सक्ने सम्भावना बढेको भन्दै यहाँका स्थानीय चिन्तति बनेका छन । पहाडी जिल्लाको ट्रान्जिट प्वाइट डडेल्धुरामा रहेकोे अस्पतालले धेरै सेवा दिइरहेको थियो । स्थानीय प्रज्वल भट्ट भन्छन 'अब त महंगो शुल्क तिरेर नेपालगन्ज तथा काठमाण्डौ जानुपर्ने भयो । नत्र भारतका अस्पतालमा जानुको विकल्प नै छैन' ।

Last modified on 2019-08-17 14:06:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts