नगरपालिकाले खारेज गर्यो भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति



Download our app to get more features

भक्तपुर, ३१ साउन । भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति खारेज भएको छ । भक्तपुर नगरपालिकाले व्यवस्थापन समिति खारेज गरेर नयाँ समिति गठन गरेको छ । नगरपालिकाले अस्पतालमा अनियमितता भएको गुनासो बढेपछि समिति खारेज गरेको हो ।

नगरपालिकाले नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । अन्य पदाधिकारीमा भक्तपुर जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेका छन् ।

 अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी गठन गरिएको समितिमा नेपाल अर्बुद्ध रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । समितिमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यका रुपमा चयन गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

व्यवस्थापन समितिका पदाधिकारीबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको सञ्चारमाध्यम, कर्मचारी र स्थानीय बासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीबाट सङ्घर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

बिरामीलाई कम शुल्कमा स्तरीय उपचार गर्नुपर्नेमासमितिमा रहेका केही व्यक्तिले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र यस विषयमा नगरपालिकाका जनप्रतिनिधिले पटकपटक व्यवस्थापन समितिका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

नगर प्रमुख प्रजापतिले भने, “अस्पतालमा अनियमितता भएको विषयमा जान्न बुधबार पनि हामी गयौँ, पटकपटक बोलाउँदा पनि अध्यक्ष, महासचिव आएनन्, बिहीबार पनि हामी गयौँ, पटकपटक बोलाउँदा नआएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गर्नुपरेको हो अब अस्पतालका सबै अनियमितताबारे छानविन हुन्छ ।”

अस्पतालका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडामाथि फार्मेसीदेखि ल्याबसम्म भाडामा दिएर कमिसन लिँदै आएको, विभिन्न सामान खरीदमा घोटाला गरेको, दाताले दिएको रकमको दुरुपयोग गरेको, अध्यक्षले अस्पतालको गाडी दुरुपयोग गरी बागबजारमा रहेको आफ्नो होटलमा समेत प्रयोग गरेको, अस्पतालभित्र व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

नगरप्रमुख प्रजापतिले अस्पतालभित्र भइरहेको भ्रष्टाचार र आर्थिक अनियमितताको विरोधमा सङ्घर्षरत स्थानीय जनता, भक्तपुर क्यान्सर अस्पताल कर्मचारी, कल्याणकारी समिति र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवं व्यवस्थापनको जिम्मेवारी लिन नगरपालिकामा लिखित अनुरोध पत्र आएपछि अस्पताललाई व्यवस्थित ढङ्गबाट सञ्चालन तथा बिरामीलाई स्तरीय उपचार सेवा प्रदान गर्न पुरानो समिति भङ्ग गरी नयाँ समिति गठन गर्ने निर्णय गरिएको बताए ।

क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरिएको थियो । विसं २०५३ मा तत्कालीन नगर प्रमुख प्रेम सुवालसमेत रहेको समिति र त्यसपछि पनि नगरपालिकालाई समितिमा राखे पनि कुनै पनि बैठकमा नबोलाउने गरेको नगरपालिकाको भनाइ छ ।

Last modified on 2019-08-17 07:26:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts