चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जना सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौँ, ३० साउन । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । उपाध्यक्ष पदको लागि ११ जनाले दरखास्त दिएका थिए । जसमध्ये दुई जनाको दरखास्त रद्द गरिएको थियो । सिफारिस गर्न गठित समितिको बुधबार बसेको बैठकले नौ जनामध्ये तीन जनाको नाम सिफारिस सरकार समक्ष गरेको हो ।
शिक्षा मन्त्रालयका अनुसार समितिले प्रा .डा. सुरेन्द्र शेरचन, प्रा.डा. श्रीकृष्ण गिरी र प्रा.डा. शम्भुकुमार पहारीको नाम सिफारिस गरेको हो । जसमा एक नम्बरमा शेरचन, दुई नम्बरमा पहारी र तीन नम्बरमा गिरीलाई सिफारिस गरेको हो । दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा लोक सेवा आयोगकै पद्धतीबाट एक दुई र तीन नम्बरमा नाम सिफारिस भएको मन्त्रालय स्रोतले जनाएको छ ।
नौ जना डाक्टरमध्ये साउन २८ र २९ गते अन्तर्वार्ता प्रस्तुतीकरणपछि तीन जनाको नाम उपाध्यक्ष पदका लागि सिफारिसमा परेको हो ।