स्वास्थ्य निर्देशनालय प्रदेश २ मा दुई निर्देशकको पदस्थापन, निर्देशक कसलाई मान्नेमा कर्मचारी अन्यौलमा

जनकपुर, ३० साउन । प्रदेश २ को स्वास्थ्य निर्देशनालयमा दुई जना निर्देशक पदस्थापन भएका छन् ।
साउन ९ गते निर्देशक डा. प्रमोदकुमार यादव कार्यालयको कामले काठमाडौं गएपछि १० गते डा. हरिश्चन्द्र साहलाई निर्देशकको जिम्मेवारी दिइएको छ । यादव काठमाडौंबाट फर्किएपछि डा. यादव र डा. साहबीच निर्देशकको काम कसले गर्ने भन्नेमा विवाद उत्पन्न भएको छ ।
निर्देशकहरु नै विवादमा उत्रिएपछि कर्मचारी अन्यौलमा परेका छन् । समायोजनमा परेर प्रदेश २ मा डा. हरिश्चन्द्र आएको तथ्यांक अधिकृत सुरेश यादवले बताएका छन् । हरिश्चन्द्रले समायोजनको क्रममा ‘कामकाज गर्नु’ भनेर पत्र पाएपनि अर्का निर्देशक डा. प्रमोदकुमारको सरुवा नभएकाले समस्या भएको हो । डा. साह र डा. यादव दुवै ११ औं तहका कर्मचारी भएकाले कसलाई निर्देशक मान्ने भन्ने अन्यौल कर्मचारबीच बढेको छ । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा एक साताअघि नै पत्र लेखेर जानकारी गराएको भएपनि अहिलेसम्म प्रतिउत्तर नआएको कर्मचारीले बताएका छन् ।
निर्देशनालयमा डा. यादव र डा. साह दुवैले आफू निर्देशक भएको दावी गरिरहेका छन् । बुधबार कार्यालय समयमा ‘निर्देशक डा. प्रमोदकुमार यादव’ भनेर बोर्ड झुन्डयाइएको थियो । तर, दुवैजना कार्यालयमा उपस्थित थिएनन् । डा. साह कार्यालयकै कामको सिलसिलामा काठमाडौं गएको कर्मचारीले बताए । उनी स्वास्थ्य निर्देशनालयको निर्देशक आफू नै हुनुपर्ने भन्दै कागजपत्र मिलाउन काठमाडौं गएको बुझिएको छ ।
बुधबार डा. प्रमोद कार्यालयकै कामले बाहिर गएको कर्मचारीले बताए । डा. यादव पनि साउन ९ गते निर्देशकमा आफू नै रहनुपर्ने भन्दै ‘मिलाउन’ काठमाडौं गएको एक कर्मचारी बताउँछन् ।
यस विषयमा प्रदेशका मुख्यमन्त्री कार्यालय र सामाजीक विकास मन्त्रालयले अहिले सम्म कुनैपनि प्रतिक्रिया दिएको छैन ।