सेती र महाकाली अस्पतालको विकास समितिले १३ महिनापछि पायो अध्यक्ष

डडेल्धुरा, ३० साउन । सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद बैठकले दुई ठुला अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ ।
कैलालीको सेती अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अस्पताल विकास समितिका अध्यक्षको नियुक्ति गरेको हो ।
सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्षमा दुर्गा जोशी र महाकाली अञ्चल अस्पतालमा कृष्ण जोशीलाई नियुक्त गरिएको जनाइएको छ । यी दुई अस्पतालले झण्डै १३ महिनापछि विकास समितिको अध्यक्ष पाएको हो । अस्पताल विकास समिती गठन आदेश २०१३ खारेज भएपछि सुदूरपश्चिमका अस्पतालहरु २०७५ जेठदेखि नै विकास समिति विहिन थिए ।
अस्पताल विकास समितीहरुलाई अस्पतालको व्यवस्थापन र संचालन गर्ने, अस्पताल व्यवस्थापनको लागि दीर्घकालिन तथा अल्पकालिन योजना तर्जुमा गर्ने गराउने, आवश्यक साधन र श्रोत जुटाउने, अस्पतालको बजेट स्वीकृत गर्ने, अस्पतालको सेवा शुल्क निर्धारण गर्ने, भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने लगायतका अधिकार दिईएको हुन्छ । विकास समितीको अभावमा दीर्घकालिन र अल्पकालिन योजनाहरु बनाउन समस्या भएको अस्पतालहरुले बताउँदै आएका थिए ।