सुदूरपश्चिममा पनि डेंगु देखियो, ५ जिल्लाका १२ जना संक्रमित



Download our app to get more features

डडेल्धुरा, ३० साउन । देशभरी नै डेंगु फैलिन थालेपछि सुदूरपश्चिमा पनि डेंगुका बिरामी भेटिएका छन् । प्रदेशका पाँच जिल्लामा डेंगुका बिरामी भेटिएका हुन् । धरानमा देखिएको डेंगु सुदूरपश्चिमका पाँच जिल्लामा पनि देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । 

सुदूरपश्चिमको सबैभन्दा बढी दार्चुला जिल्लामा चार जना बिरामी भेटिएको महाशाखाको तथ्याङले देखाएको छ । त्यस्तै कैलालीमा तीन, कञ्चनपुर र डडेल्धुरामा दुई÷दुई र अछाम जिल्लामा एक जना डेंगुका बिरामी भेटिएको बताइएको छ । अहिले देशभरीका ४३ जिल्लामा तीन हजार चार सय १३ डेंगुका बिरामी भेटिएकोमा सुदूरपश्चिम प्रदेशमा १२ जना बिरामी रहेको महाशाखाले जनाएको छ । महाशाखाले डेंगु नियन्त्रण बाहिर गईसकेको समेत जनाएको छ । वर्षातको मौसम सकिएपछि देखिने डेंगु यस वर्ष बर्खा सुरु हुनुअघि नै देखिएको जनाइएको छ  ।

पहाड चढ्दै लामखुट्टे
सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लागरी सात जनामा डेंगुको संक्रमण देखिएको छ । पछिल्लो समय यातायातले तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुनाजन्य रोग विस्तारै पहाडमा फैलिँदै छ । डेंगु, औलो, मलेरिया, कालाजार, इन्सेफलाइटिस जस्ता घातक रोग पहाडी जिल्लामा फैलिन थालेका हुन । 

२०३३ अघि पहाडी जिल्लामा यस्ता रोगको विषयमा कसैलाई जानकारी नभएको मलेरिया इन्सपेक्टरका रूपमा काम गरेका करवीर बोहराको भनाई छ । ‘पहाडमा मोटरगाडी पुग्नुअघि लामखुट्टे देखीन्थीएनन्’ उनले भने ‘लामखुट्टेको डरले कुनै समय पहाडका बासिन्दा तराईमा स्थायी रूपमा बसोवास गर्दैनथे ।’ ‘तर पहाडमा मोटर पुगीसकेपछी यहाँ लामखुट्टेबाट सर्ने रोग देखीन लागेको हो’ उनले थपे । सरकारी तथ्यांकमा पनि २०३६ पछि मात्र सुदूरका पहाडी जिल्लामा औलो नियन्त्रणका कार्यक्रम सञ्चालन भएका देखीन्छन ।  पहाडमा यातायातका साधन पुग्न थालपछी तराईमा प्रकोपको रुपमा रहेको डेंगु पहाडतिर सर्न थालेको पनि उनले बताए ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका निर्देशनालयले गरेको अध्ययनअनुसार पहाडी जिल्लामा रोग सार्ने प्रकृतिका लामखुट्टेको संख्या तराईको तुलनामा हाल पहाडमा बढी रहेको देखिएको छ । 

तराईमा लामखुट्टे बढी भएपनि रोग सार्ने क्षमता भएका लामखुट्टे पहाडमा बढी देखिएको एक अध्ययनले देखाएको छ । औसतमा २० देखि २५ डिग्री तापक्रममा यस्ता लामखुट्टे बढी हुने गरेका कारण पनि पहाडी जिल्लामा घातक रोग बोक्ने क्षमता भएका लामखुट्टे बढ्न थालेको स्वास्थ्य निर्देशनालयको भनाई छ । 

भारतबाट फर्केकाहरूबाट लामखुट्टे र भुसुनाले रोग सार्ने घटना बढी भएको छन । ‘रोग सार्ने लामखुट्टे पहाडी जिल्लामा प्रशस्त आएका छन’ स्वास्थ्य कार्यालय डडेलधुराका स्रोतव्यक्ति हरि भट्टले भन्छन ‘भारतबाट रोजगारीमा गएकाहरू रोग ल्याएर फर्केपछि अरुमा पनि यस्ता घातक रोग सर्दै गएको देखीन्छ ।’ 

Last modified on 2019-08-16 08:56:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts