कञ्चनपुरको वेदकोट नगरपालिकाका सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन

डडेल्धुरा, २९ साउन । २४ सामुदायिक विद्यालय रहेको कञ्चनपुरको वेदकोट नगरपालिकाका सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । नगरपालिकाले नगरका सम्पुर्ण सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा पहिलो पटक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्न लागेको हो ।
नगरपालिकाका २४ सामुदायिक विद्यालय र ९ स्वास्थ्य संस्थामा उक्त मेसिन जडान गरिन लागेको नगर प्रमुख अशोक कुमार चन्दले बताए । यो सँगै वेदकोट नगरपालिकाका नेपालकै पहिलो सबै सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने नगरपालिका बनेको उनले बताए ।
छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय नछोड्नु पर्ने बाध्यता अन्त्यका लागि उक्त मेसिन वडा कार्यालयले जडान गरिदिएको नगर प्रमुख चन्दको भनाई छ । स्यानिटरी प्याड भेन्डिङ मेसिन जडानपछि विद्यालयलाई मास्टर कार्ड दिईएको छ । उक्त कार्ड मसिन भित्र हालेपछि स्यानिटरी प्याड बाहिर निस्कने व्यवस्था गरिएको छ ।
महिनावारी हुँदा अधिक रगत बग्ने हुँदा पठनपाठन छाडेर घरै बस्नुपर्ने अवस्था रहेकाले मेसिन जडान भएपछि छात्राहरु हर्षीत भएका छन् । स्यानिटरी प्याड लगेर स्कुल जाँदा पनि समस्या बेहोर्नु परेको त्यहाँका छात्राहरुको गुनासो रहेको थियो ।