आयुर्वेद औषधालयमा आर्थिक अनियमितता, स्थानीय सरकार र औषधालय कर्मचारीबीच आरोप प्रत्यारोप

जनकपुर, २९ साउन । जनकपुरको आयुर्वेद औषधालयमा व्यापक अनियमितता भएको पाइएको छ । औषधालयमा आर्थिक वर्ष २०७५÷७६ मा खरिद भएका औषधि तथा फर्निचरमा व्यापक अनियमितता भएको पाइएको हो ।
औषधालयका प्रमुख डा. सिमा झा, लेखा अधिकृत महेन्द्र साह र कार्यालय प्रमुखका श्रीमान औषधि व्यवसायी सरोज राय यादवको मिलिमतोमा लाखौं रकम हिनामिना भएको पाइएको हो ।
औषधालय स्थानीय तहमा समायोजन भएपछि जनकपुरधाम उपमहानगरपालिकाले कर्मचारीको बजेटलगायत कार्यालय व्यवस्थापनदेखि सरसमान खरिद र शिविर सञ्चालनसम्मका लागि रकम छुटयाएको छ । उपमहानगरले औषधालयका लागि छुट्याइए अनुसारको रकम खर्च भएपनि कर्मचारीले पाउनुपर्ने तलबबाहेक अन्य सेवा सुविधा पाएका छैनन् ।
औषधालयका लेखा अधिकृत महेन्द्र साह र कार्यालय प्रमुखले तलबबाहेक अन्य रकम उपमहानगरले नदिएको बताएका छन् । तर, उपमहानगरले गत वर्ष कर्मचारीको तलबमा ४५ लाख १४ हजार २ सय ५३ रुपैयाँ, कार्यालय सञ्चालन खर्चमा २५ हजार ६ सय, शिरीधार टेवल, वाष्पस्वेदन सेट तथा अन्य चिकित्सा शिर्षकमा ९९ हजार ४ सय ४०, कार्यालयमा फर्निचरका लागि ४० हजार विनियोजन गरेको पाइएको छ ।
उपमहानगरले जडिबुटीबाट पूर्ण औषधि निर्माणमा ४० हजार, स्वास्थ्य जीवन कार्यक्रममा एक लाख, राष्ट्रिय योग दिवसमा १५ हजार, पञ्चकर्म पूर्वकर्म कार्यक्रममा एक लाख २० हजार, अत्यावश्यक आयुर्वेद औषधि खरिदमा ५ लाख, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा एक लाख ३० हजार र स्तनपायी आमालाई मातृ शिशु सुरक्षार्थ एक लाख ६ हजार ९२० रुपैयाँ गरी जम्मा ६३ लाख ९९ हजार २३० रुपैयाँ खर्च गरेको छ । जनकपुरधाम उपमहानगरअन्तर्गत जनकपुर अञ्चल आयुर्वेद औषधालय र कुर्था आयुर्वेद छन् ।
उपमहानगरले नै रकम हिनामिना गरेको आरोप
औषधालयका प्रमुख डा. सिमा झाले उपमहानगरपालिकाले नै हिनामिना गरेको बताइन् । जनकपुरधाम उपमहानगरले औषधालयका कर्मचारीलाई तलबका क्रममा दिएको ४५ लाख १४ हजार २५३ रुपैयाँबाहेक केही नदिएको उनको भनाइ छ । नगरपालिकाबाटै १८ लाख ८४ हजार ९ सय ७७ रुपैयाँ हिनामिना भएको उनको जिकिर छ । कार्यालय प्रमुख र कार्यालयका लेखा अधिकृतले आफूलाई तलबबाहेकको ३० हजार रुपैयाँबाहेक केही पनि नदिएको उनले बताइन् ।
प्रदेश सरकारको करिब ६० लाख व्यवस्थापनमै खर्च
२०७६ साल असारसम्म स्थानीय तह मातहतमा रहेको जनकपुर अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश सरकारको सामाजिक विकासमन्त्रालयले पटक–पटक गरी ५९ लाख ५३ हजार रकम निकासा गरेको छ । आर्थिक वर्षको अन्त्यमा प्रदेश सरकारले निकासा गरेको रकम असार १८ गतेपछि करिब डेढ लाखबाहेक सबै खर्च भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले दिएको रकमबाट १८ लाख मूल्यबराबरको औषधी टेन्डरमार्फत र बाँकी रकमको औषधी कोटेसनका आधारमा खरिद गरेको कार्यालय प्रमुख झाले बताइन् ।
प्रदेश सरकारले दिएको रकमबाट फर्निचर तथा फिक्चर्समा ५ लाख, मेसनरी उपकरणमा ५ लाख, योग हलको मर्मत सम्भारमा ५ लाख, स्वस्थ जीवनशैली कार्यक्रममा ३ लाख, प्रयोगशाला व्यवस्थापनमा ४ लाख ५० हजार, बिरामी सुताउने शय्यामा २ लाख, पञ्चकर्म व्यवस्थापनमा ३ लाख, एसी जडानमा ३ लाख ५० हजार र यूएसजीमा १९ लाख रुपैयाँ औषधालयले खर्च गरेको जानकारी दिएको छ ।
औषधिमा लाखौं अनियमितता
औषधालयले औषधि खरिदका लागि निकालेको काटेसनमा कार्यालय प्रमुखले आफ्नो श्रीमानको नाममा रहेको फर्मलाई नै कोटेसनको स्वीकृति दिएकी छन् । जनकपुर ४ मा रहेको भनिएको राहत आयुर्वेद फर्माका नाममा कोटेसन परेको छ । तर त्यहाँ औषधि पसल छैन । विभिन्न मितिमा सो औषधी पसललाई भुक्तानी गरिएको छ ।
असार २४ गते राहत आयुर्वेद फर्माको नाममा १ लाख २४ हजार ८ सय र १ लाख ६९ हजार ९२० रुपैयाँको बिल भुक्तानी गरिएको छ । त्यस्तै असार २५ गते ९० हजार ४५ रुपैयाँको औषधीको बिल भुक्तानी दिइएको छ ।
कार्यालयका कर्मचारी शंकरप्रसाद साहका अनुसार विभिन्न सामान खरिदमा पनि व्यापक अनियमितता भएको छ । कार्यालय प्रमुख, लेखा अधिकृत र कार्यालय प्रमुखका श्रीमानको मिलोमतोमा अनियमितता भएको उनले बताए ।
औषधालयमा फर्निचर खरिदका नाममा जनकपुर ८ मा रहेको जय मां लक्ष्मी फर्निचर उद्योगलाई ९९ हजार ४४० र प्राकृतिक जडिबुटि औषधि उद्योगलाई ४९ हजार ९२० रुपैयाँको बिल भुक्तानी दिइएको छ । औषधालयमा जनकपुरधाम उपमहानगर र प्रदेश सरकारले लाखौं रकम खर्चिएको भए पनि कार्यालयमा भने २ वटा सोफा, ४ वटा कुर्सीलगायतका केही फर्निचरमात्रै छन् ।
सञ्चयकोष र गाउँघर क्लिनिकको रकम बक्यौता
औषधालयका वैद्य पदमा कार्यरत शंकरप्रसाद साहले बसहियामा महिनाको दुई दिन गाउँघर क्लिनिक सञ्चालन गरेबापतको रकमसमेत नपाएको बताए । कर्मचारीको तलब जनकपुरधाम उपमहानरले दिए पनि सञ्चयकोषको रकम जम्मा नगरेको साहले जानकारी दिए । जनकपुरधाम उपमहानगरका तत्कालीन लेखापाल दीपेन्द्र चौधरी भने बल्व खरिद प्रकरणमा अख्तियारले मुद्दा दर्ता गराएपछि १५ दिनदेखि निलम्बनमा छन् ।
कार्यालय प्रमुखको दराज तोडफोड
नियमित कार्यालय नआएको भन्दै कर्मचारीले नै कार्यालय प्रमुखको दराज तोडफोड गरेका छन् । मंगलबार बिहान पनि कार्यालय आएर हाजिर गरेपछि बाहिर बसेकी प्रमुख डा. झाले दराजमा कागजपत्र राखेको भन्दै कर्मचारीले तोडफोड गरेको हुन् । कार्यालयका कागजात दराजमा राखेर एक हप्तासम्म कार्यालय नआएकाले दराज तोडफोड गर्नुपरेको स्टोर किपर इन्द्रेशकुमार महतोले बताए । महतोले कार्यालय दर्ता, चलानी, हाजिरी रजिस्टार, कार्यालयका खरिद एकाई कमिटीका निर्णयको माइन्युटलगायतका फाइल दराजमा बन्द गरेर बाहिर गएकाले बाध्य भएर फोर्नुपरेको बताए । प्रमुख झाले भने आफू फिल्डमा शिविरमा रहेका बेलामा कर्मचारी दराज फोडेर कार्यालयको कागजात निकालेको बताएकी छन् ।