अमरगढी नगरपालिकाद्वारा स्वास्थ्य क्षेत्रको लागि १६ लाख विनियोजन

डडेल्धुरा, २६ साउन । अमरगढी नगरपालिका डडेल्धुराले ११ वटै वडाको गाउँघर क्लिनिक तथा स्वास्थ्य क्षेत्रको लागि १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत अमरगढी नगरपालिका ८ र ९ मा गठन भएको स्थानीय सभाले गाउँघर क्लिनिक र स्वास्थ्य क्षेत्रको लागि पहल गरेपछि नगरपालिकाले १६ लाख रुपयाँ विनियोजन गरेको वडा नं ९ का वडा अध्यक्ष भिम बहादुर बोहराले बताए ।
नगरपालिकाको वडा कार्यालय ९ बाट वडामा रहेको गाँउघर क्लिनीक र औषधि खरिदको लागि १ लाख ५० हजार विनियोजन गरेको अध्यक्ष बोहराले बताए । उनले आगामी दिनमा पनि वडाले स्थानीय सभामा उठेका सवालहरुको पहिचान गरि प्राथमिकताका आधारमा वडाको नीति तथा कार्यक्रममा समावेश गर्ने बताए ।
स्थानीय सभाले गाउँघर क्लिनिकको लागि सम्बन्धीत वडा र नगरपालिकासँग पहल गरेपछि अहिले स्वास्थ्य क्षेत्रको लागि बजेट बिनियोजन गरेको हो । उक्त स्थानिय सभाले विगत लामो समय देखि शिक्षा स्वाथ्य, कृषि तथा स्थानिय स्तरका विभिन्न सवालमा पैरवि गर्दै आएको छ ।