प्रदेश सरकारले किन्यो ७ पहाडी जिल्लाका लागि ‘अत्याधुनिक एम्बुलेन्स’



Download our app to get more features

डडेल्धुरा, २५ साउन । सुदूरपश्चिम प्रदेश सरकारले ७ पहाडी जिल्लाका लागि ‘अत्याधुनिक एम्बुलेन्स’ खरिद गरेको छ ।  यहाँका १६ निर्वाचन क्षेत्रका लागि सरकारले अत्याधुनिक एम्बुलेन्स खरिद गरेको हो । 

प्रदेशको सामाजिक मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि मन्त्रालयले ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोहि  बजेट बाट मन्त्रालयले सवा ६ करोड मुल्य पर्ने १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको हो । 

संघीय सरकारको अर्थ मन्त्रालयले भन्सार छुटका लागि इजाजत दिएपछि सामाजिक विकास मन्त्रालयले ३९ लाखका दरले ‘बी ग्रेड’ का एम्बुलेन्स खरिद गरेको हो । एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ । 

हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण हुनेछन् । सबै एम्बुलेन्स ‘बी ग्रेड’ का खरिद गरेको मन्त्रालयले जानकारी दिएको छ । 

सुदूरपश्चिममा अहिलेसम्म थिएनन् ‘बी ग्रेड’का एम्बुलेन्स
सुदूरपश्चिममा ‘बी ग्रेड’ को अहिलेसम्म एउटा पनि एम्बुलेन्स थिएन । प्रदेशमा ७ वटा पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीमा प्रदेश सभाका १६ निर्वाचन क्षेत्र छन् ।

किनिएका एम्बुलेन्स दशै अगाडि सम्बन्धित संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरिने मन्त्रालयका सह–सचिव तथा प्रवक्ता झंकरबहादुर विष्टले  जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्लामा एम्बुलेन्स नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाउनु परेको थियो । ’बी ग्रेड’ को एम्बुलेन्समा सबै आकस्मिक उपकरणसँगै ट्राभलिङ भेन्टिलेटर, अटोमेटेड एक्सटर्नल डिफ्राइब्रिलेटर, चेस्ट ड्रेनेज ट्युब, हेमो स्टेटिक सेटबाहेक ’ए ग्रेड’का सबै उपकरण र सुविधा हुने बताइएको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण हुनेछन् ।

त्यस्तै डोटीमा, जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्तरुपमा एउटा एम्बुलेन्स हस्तान्तरण हुने बताइएको छ ।

Last modified on 2019-08-10 15:37:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts