गण्डकी प्रदेश र हेटौंडामा बढे डेंगुका बिरामी

काठमाडौं, २४ साउन । गण्डकी प्रदेशका विभिन्न जिल्ला र पोखरा महानगरपालिकाका वडाहरुमा डेँगु रोगका बिरामी फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. ८ र ९ मा डेँगु रोगका बिरामी फेला परेका हुन् ।
डेँगुका बिरामी फेलापरेपछि लामखुट्टेको टोकाईबाट सतर्क रहन क्षेत्रीय स्वास्थ निर्देशनालय पोखराले आम नागरिकलाई आह्वान गरेको छ ।
पोखरामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काले उक्त जानकारी दिएका हुन् ।
पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङजा र धरानबाट पोखरा आएका ४ जनामा डेंगु लागेका बिरामी भेटिएको उनले बताए ।
उनकाअनुसार बिरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेका छन् । निर्देशक खड्काकाअनुसार धरानबाट डेंगु लागेर औषधि खाइरहेका दुई जना पोखरा आएको छन् ।
पोखरा बसपार्क क्षेत्र र धेरै ग्यारेजहरु भएको क्षेत्रमा बढी मात्रामा डेंगुका बिरामी भेटिएका छन् । तर, पोखरा पर्यटकीय क्षेत्रमा भने त्यसको कुनै असर नरहेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जनाकारी दिए ।
उनले पोखरामा भेटिएका बिरामीको ज्यान जोखिममा नरहेको पनि बताए । उपचारभन्दा पनि उत्पत्ति रोक्न जरुरी भएको बताउँदै लामखुट्टेका लार्भा रहने स्थान पहिचान गरी नष्ट गर्ने अभियान वडामा चलाइएको पौडेलले बताए ।
उनले महानगर मात्र नभई यसबारेमा सबैजना सचेत हुन आवश्यक रहेको बताए ।
प्रमखु पौडेलकाअनुसार मानिसमा सामान्य ज्वरो आउने, जिउ हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने र आलस्य हुनेजस्ता लक्षण भएमा डेंगु लागेको हुनसक्छ ।
एडिज एजिप्टाई र एडिज अल्बोपिटक्स नामको लामखुट्टेको टोकाईबाट डेँगु सर्ने भएकाले टोकाईबाट बच्नु नै सुरक्षित हुनुको उपाय भएको उनले बताए ।
हेटौंडा अस्पतालमा पनि डेंगु रोगका बिरामी
हेटौंडा अस्पतालमा पनि डेंगु रोगका बिरामी ह्वात्तै बढेसंगै आम नागरिक चिन्तित भएका छन् ।
रोगले महामारीको रुप लिनेगरी दिनहुुँ बिरामीको संख्या बढेपछि स्वास्थ्य परीक्षण गर्नेको भिड लागेको छ ।
‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण, स्वास्थ्य निर्देशनालय हेटौंडा लगायत अन्यस्वास्थ्यसंग सम्बन्धित निकायहरू हुँदा पनि प्रभावित जनताले यहाँ सहज सेवा पाउन सकेका छैनन्’, एक डेंगु संक्रमितले भने ।
१० गते देखि २३ गतेसम्म पनि नियन्त्रणमा आउन नसकेपछि अहिले काउन्सिलिङ सहित नियन्त्रण प्रयास भएको जनस्वास्थ्य निर्देशनालय हेटौंडाका अधिकृत बृहस्पति तामाङले बताए ।
सबै स्वास्थ्य निकायका आधिकारिक व्यक्तिको आकास्मिक बैठक बसेपछि स्वास्थ्य परीक्षण गर्दा केही छुटको लागि सहमत भएको समेत अधिकृत तामाङले जानकारी दिए ।
यो अबस्थामा हेटौंडा अस्पतालले परीक्षण निशुल्क गरेको छैन । तर, हेटौंडा स्वास्थ्य कार्यालयले भने निशुल्क परीक्षण गरिरहेको छ ।