कारागारका कैदीलाई भाइरल ज्वरोले सतायो, एक सातामै १ सय २० जना बिरामी

उदयपुर, २३ साउन । जिल्ला कारागार उदयपुरमा रहेका कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखा परेको छ ।
कारागारमा कैद भुक्तानी गरिरहेका एक सय ७३ कैदी बन्दीमध्ये एक सय २० जना भारइल ज्वरोको चपेटामा आएका छन् ।
कारागारका अनुसार आईतबारदेखि एकाएक बिरामी परेका कैदीबन्दीलाई सोमबार जिल्ला अस्पताल गाईघाटका चिकित्सकको टोलीले उपचार गरेको थियो । अस्पतालबाट चिकित्सकको टोली ल्याएर उपचार गराउँदा भाइरल ज्वरोको लक्षण देखा परेकाले अहिले उपचार जारी छ ।
एक जनामा देखा परेको भाइरल ज्वरो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले ठुलो संख्यामा बिरामी परेका हुन् । ५० जनाको क्षमता रहेको कारगारमा एकसय ७३ कैदीबन्दी छन् ।
स्वशप्रस्वासबाटै एकबाट अर्कोलाई सरेकाले ठुलो संख्यामा बिरामी परेका हुन् । कारागारमा पुरुष कैदी १ सय ५ जना, बन्दी ५२ जना रहेका छन् भने महिला कैदी ८ जना, बन्दी ४ जना र आमासँग आश्रित ४ नाबालिका रहेका छन ।