डडेल्धुरा बाहेक सुदूरका पहाडी जिल्लामा टेलिमेडिसिन सेवा अवरुद्ध हुँदा समस्या
डडेल्धुरा, २३ साउन । डडेल्धुरा बाहेक सुदूरका ६ पहाडी जिल्लामा टेलिमेडिसिन सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।
डडेल्धुरा बाहेक अन्य सबै जिल्ला अस्पतालमा राखिएका मेसिनहरु बिग्रिएपछि काम नलाग्ने अवस्थामा पुगेको छ । सुदूरका पहाडी ७ जिल्ला बैतडी, दार्चुला, बझाङ, अछाम, डोटी र बाजुरामा मेसिनहरु बिग्रेर काम नलाग्ने अवस्थामा पुगेका छन् । तालिमप्राप्त चिकित्सक नभएको र पूर्वाधार नहुँदा यी जिल्लामा भएका सेवा पनि पुनः सुचारु हुन सकेको छैन ।
जिल्ला अस्पतालमा सञ्चालन गरिएको टेलिमेडिसिन सेवा वर्षाैदेखि अवरुद्ध हुँदा उपचारमा समस्या हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । भिडियो सम्पर्कमार्फत विशेषज्ञ डाक्टरबाटै दुर्गमका बिरामीको उपचार र परामर्श दिने उद्देश्यले सञ्चालन गरिएको उक्त सेवा अवरुद्ध भएपछि बिरामी समस्यामा परेका छन् ।
केही वर्ष अगाडि सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न अस्पतालहरुमा यो सेवा सुरु गरिएको थियो । सुरुको दुई वर्ष भिडियो सम्पर्कमार्फत विशेषज्ञ डाक्टरको परामर्शअनुसार उपचार सेवा पाएका पहाडी जिल्लाका बिरामीहरुलाई अहिले उक्त सेवा बन्द हुँदा समस्या भएको चिकत्सक बताउँछन् ।
जिल्ला अस्पताल बाजुराले टेलिमेडिसिन प्रविधिबाट गरिने काम फेसबुक लाइभ, भाइबर, स्काइपबाट गरिरहेको तर प्रभावकारी भने नभएको बताएको छ । टेलिमेडिसिनले बिरामलाई परामर्श दिन तथा उपचार गर्न सहयोग गरेको भएपनि सेवा बन्द भएपछि समस्या भइरहेको अस्पतालको भनाई छ ।
प्रभावकारी बन्दै गएको उक्त सेवालाई सरकारले निरन्तरता भने दिन सकेको छैन । तर प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त सेवालाई पुन सुचारु गर्नको लागि बजेट भने विनियोजन गरेको छ ।