कपिलवस्तुका ६ प्रतिशत जनतामा मात्रै स्वास्थ्य बीमाको पहुँच

कपिलवस्तु, २२ साउन । कपिलवस्तुका ६ प्रतिशत जनताको पहुँचमा मात्रै स्वास्थ्य बीमा पुगेको छ । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जम्मा ६ प्रतिशत जनता संलग्न छन्् । चालु आर्थिक वर्ष २०७४÷०७५ देखि सुरु भएको कार्यक्रममा हालसम्म ३ हजार ४ सय ९६ घरपरिवारको आवद्धता रहेको छ ।
जिल्लामा ३६ हजार पाँचसय १३ जना स्वास्थ्य बीमा कार्यक्रममा सदस्य आवद्ध रहेको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी सुजता मर्हजनले जानकारी दिइन् । हालसम्म यस कार्यक्रमबाट रु २ करोड ५ लाख २६ हजार ३ सय ७० रकम सङ्कलन भएको उनले बताइन् । कपिलवस्तुमा बाणगंगा नगरपालिमा सबैभन्दा बढि बिमा गराएका छन् । त्यहाँ नौ हजार १सय ८३ जनाले बिमा गराएका छन् । सबैभन्दा कम यशोधरा गाउँपालिकामा सात सय १८ जना बिमाकर्ताले बिमा गराएका छन् । जिल्लामा ९६ दर्ता सहयोगी परिचालित छन् । वडास्तरमा खटिएका दर्ता सहयोगी मार्फत् स्वास्थ्य बिमा गराउन सकिन्छ ।
जिल्लामा वि.सं. २०७४ चैत्रदेखि यो कार्यक्रम शुरु भएको हो ।