दोषी ठहरिएका व्यक्तिलाई विश्वविद्यालयमा नियुक्त नगर्न सरकारलाई डा.केसीको आग्रह

काठमाडौं, २१ साउन । प्राध्यापक डा.गोविन्द केसीले सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरुलाई कुनै पनि हालतमा विश्वविद्यालयहरुमा नियुक्त नगर्न ध्यानाकर्षण गराएका छन् ।
त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएकोमा फेरि भावण्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद हुने भन्दै डा.केसीले मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा दोषी ठहरीएका व्यक्ति नियुक्त नगर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा राजनीतिक भागबण्डाको आधरमा नियुक्ती गरे समग्र मुलुकको शिक्षा क्षेत्र प्रभावित हुने साथै अहिले कुनै विश्वविद्यालय नथप्न पनि सरकारलाई आग्रह गरिएको छ ।
अहिलेसम्म विश्वविद्यालयहरुमा संस्थागत भएका दलीय भागवण्डा, नातावाद र कृपावादजस्ता प्रवृत्तिजन्य भद्रगोल व्यवस्थापन अन्त्य हुनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएकोछ ।
साथै डा.केसीको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था गर्न सरकारलाई स्मरण गराउँदै विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागवण्डा भएको खण्डमा संघर्षमा उत्रने चेतावनि दिइएको छ ।