पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कागजात अख्तियारको नियन्त्रणमा

पोखरा, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कागजात नियन्त्रणमा लिएको छ ।
उपकरण खरिद र सामाजिक सेवा इकाइ सञ्चालनमा अनियमितता भएको उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयले छानबिनका लागि भन्दै प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कागजात नियन्त्रणमा लिएको हो ।
कार्यालयका अनुसार गतवर्ष एमआरआई मेसिन खरिदमा अनियमितता भएको उजुरी परेको थियो ।
अस्पतालभित्र सामाजिक सेवा इकाइ सञ्चालनका लागि अस्पतालले असार २३ मा सार्वजनिक सूचना जारी गरेको थियो । चार गैरसरकारी संस्थाले निवेदन दिएका थिए । इकाइ सञ्चालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था छ ।
अस्पताल व्यवस्थापन समितिलाई बेवास्ता गर्दै डिनको संयोजकत्वमा बनाइएको समितिले आर्थिक चलखेल गरेको उजुरी अख्तियारमा परेको थियो ।