चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिने दुई जनाको दरखास्त रद्द

नौ जनालाई बोलाइयो अन्तरवार्तामा



Download our app to get more features

काठमाडौं, २० साउन । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस समितिले दुई जना आकांक्षीको दरखास्त रद्द गरेको छ । दरखास्त दिएका ११ जनामध्ये प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयको दरखास्त रद्द गरिएको सिफारिस समितिले जनाएको छ । 

आवेदन दिँदा आयोगसँग कुनै स्वार्थ टकराव नरहेको स्वघोषणा नगरेकाले दुवैको दरखास्त रद्द गरिएको समितिका एक सदस्यले बताए । अन्य ९ जनाको आवेदन स्वीकृत गर्दै समितिले अन्तर्वार्ताका लागि डाकेको छ ।

सरकारले आयोग गठन प्रक्रिया अघि बढाएपछि लोकसेवा अयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले सार्वजनिक सूचना प्रकाशित गरेर उपाध्यक्षका लागि दरखास्त आहवान गरेको थियो ।

पहिलोपटक ६ जनाले आवेदन दिएका थिए । चिकित्सा शिक्षा ऐनअनुसार विज्ञापन सच्याएर सिफारिस समितिले दोस्रोपटक आहवान गर्दा ११ जनाको निवेदन परेको थियो । तीमध्ये रमेशप्रसाद सिंह, पारसकुमार पोखरेल, तरुण पौडेल, नीलमणि उपाध्याय, यहुनचन्द्र शिवाकोटी, श्रीकृष्ण गिरी, शम्भुकुमार पहारी, राजेन्द्रप्रसाद साह र सुरेन्द्र शेरचनलाई अन्तर्वार्ताका लागि डाकिएको छ ।

उनीहरूलाई ४ वर्षे कार्यकालको सोचपत्र र व्यावसायिक कार्ययोजनासहित साउन २६ र २७ गते अन्तर्वार्तामा बोलाइएको हो । समितिले अन्तर्वार्तापछि ३ जना सम्भावित उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले तीमध्ये एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने प्रावधान छ। उपाध्यक्ष आयोगको कार्यकारी प्रमुख रहने व्यवस्था ऐनले गरेको छ ।

आयोगले पूर्णता नपाउँदा चिकित्सा शिक्षासम्बन्धी एकीकृत प्रवेश परीक्षा, शिक्षण संस्थाको नियमन, अनुगमन र व्यवस्थापन, शुल्क निर्धारणलगायतका काम प्रभावित बनेको छ ।


(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-08-05 16:58:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts