स्वास्थ्य निर्देशनालयले खरिद गरेको स्वास्थ्य उपकरण र औषधि खरिदका कागजात तिन दिन भित्र उपलब्ध गराउन निर्देशन

रुपन्देही, १७ साउन । प्रदेश नं ५ को प्रदेशसभाको सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले खरिद गरेका स्वास्थ्य उपकरण तथा औषधि खरिद सम्बन्धी कागजात तीन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
बिहिबार बसेको समितिको बैठकले प्रदेशको स्वास्थ्य निर्देशनालयसँग माग गरेको विवरण हाल सम्म पनि उपलब्ध नगराएको भन्दै तीन दिन भित्र कागज पत्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गतकै शिक्षा महाशाखासँग आर्थिक वर्ष २०७५/०७६ मा शिक्षा क्षेत्रमा छुट्टाएको वजेट कार्यान्वयनको अवस्था बारेको विवरण माग गरेकोमा त्यससँग सम्बन्धी विवरण पनि हाल सम्म उपलब्ध नगराएको भन्दै तिन दिन भित्र सो विवरण उपलब्ध गराउन निर्देशन दिने निर्णय समेत गरेको छ ।
यस अघि बसेको समितिको बैठकले प्रदेशको स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखासँग त्यस सम्बन्धी विवरण माग गर्ने निर्णय गरे पछि समितिले यही साउँन २ गते पत्राचार गरेको थियो ।
समितिका सभापति दृगनारायण पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकमा समितिबाट भएको अस्पत्तालहरुको अनुगमन प्रतिवेदन सम्बन्धमा पनि छलफल भएको समितिका सभापति पाण्डेयले बताए ।
बैठकमा प्रदेशसभा सदस्यहरु अर्जुन कुमार श्रेष्ठ,बाबुराम गौतम,पुरनमान बज्राचार्य,दिपा बिक,कमला बिक,रिना नेपाल बिक ले अनुगमन प्रतिवेदनमा आ आफनो सुझाव दिएका थिए ।