व्रत बस्दाको यस्ता छन् फाइदा...
यतिबेला साउन महिना चलिरहेको छ । हिन्दुहरुको लागि महान चाड जस्तै रहेको यो महिनामा शिव भगवानको पुजा र व्रत बस्ने गरिन्छ । साउने सोमबारका दिन व्रत बस्नेहरु यतिबेला हरियो चुरा र हरियै पहिरनमा देखिन्छन् । भगवान शिव जस्तै श्रीमान पाउँ र श्रीमानको लामो आयुका लागि भन्दै साउनमा व्रत बस्ने गरिन्छ ।
व्रत बस्दा स्वास्थ्यको दृष्टिकोणले कमजोर भइने चिकित्सकीय मान्यता पनि छ । तर, व्रत बस्नुको बेफाइदामात्र छैन । निश्चित समयको अन्तरमा निराहार बस्दा स्वास्थ्यलाई फाइदापनि हुन्छ ।
साताको एकदिन व्रत बस्नु महिलामात्र होइन हरकोहीका लागिसमेत राम्रो हुन्छ । व्रत बस्नु भनेको भगवानको नाममा केही नखाई भोकभोकै बस्नुलाई मात्र मानिँदैन । व्रत धेरै किसिमले बस्ने गरेको पाईन्छ ।
विशेष चाडपर्वमा मात्र भन्दा पनि अधिकांश हिन्दु धर्मावलम्बीहरु भगवानको नाममा बारअनुसार व्रत बस्ने गर्छन् । यसरी भगवानको नाममा साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ । त्यसकारण हामी पानी पनि नलिइ व्रत बस्नु भन्दा पनि हप्ता एक पटक पानी, फलफूलको सेवन गर्नु राम्रो मानिन्छ ।
व्रतले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ? ग्यास्ट्रोइन्ट्रोलोजिष्ट प्राध्यापक डाक्टर भुपेन्द्र वस्नेतले दिएका केही टिप्सहरु यस्ता छन् ।
नियमित व्रत बस्दा हुने फाइदा
व्रत बस्दा तौलमा नियन्त्रण हुन्छ
तौलका कारण हुने विभिन्न समस्याबाट बच्न सकिन्छ
उच्च रक्तचाप, मधुमेह, यूरिक एसिड, कोलेस्ट्रोल तथा दीर्घ रोगबाट बचाउँछ
पाचन प्रक्रियाले आराम गर्ने मौका पाउँछ
रोग प्रतिरोधात्मक क्षमतलाई बढाउँछ
शरीरमा रहेका विषाक्त पदार्थ सफा हुन्छ
तर, पानी पनि नपिइ निराहार व्रत बस्नु स्वास्थ्यलाई हानिकारक मानिन्छ । पानी पनि नपिउँदा शरीरमा पानीको कमी भई डिहाइड्रेसनजस्ता समस्या निम्त्याउने हुँदा त्यसतर्फ ख्याल गर्न पनि डाक्टर बस्नेतले सुझाव दिएका छन् । घरमा मात्र बस्दा समस्या नहुन पनि सक्छ तर, निराहार व्रत बसेको समयमा धेरै परिश्रम गर्ने, चर्को घाममा हिँडडुल गर्दा शरीरमा पानीको कमी हुन जान्छ । यस्तो अवस्थामा चक्कर लाग्ने, कमजोरी महसुस हुन तथा ब्लड प्रेसरमा कमी आउने हुन्छ । शरीरमा पानीको मात्रा कमी हँुदा सबै भन्दा धेरै असर मृगौलामा पर्छ ।
त्यसकारण व्रत बस्दा निराहार भन्दा पनि पानी र फलफूलको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।