‘हेपाटाइटिस बी’ संक्रमितले समयमा उपचार नगरे कलेजोको सिरोसिस
अल्का अस्पतालमा हेपाटाइटिस बीको निःशुल्क परीक्षण

काडमाडौं, १२ साउन । अल्का अस्पतालले अन्तर्राष्ट्रिय हेपाटाइटिस दिवसको अवसरमा आइतबार निःशुल्क हेपाटाइटिस बी परीक्षण शिविर सञ्चालन गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं अल्का, अल्का अस्पताल प्रा.लि र लियो क्लब अफ काठमाडौं अल्काको सहकार्यमा हेपाटाइटिस बी परीक्षण गरिएको हो । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन भएको अस्पतालले जानकारी दिएको छ ।
परीक्षणसँगै संक्रमित बिरामीलाई निःशुल्क कन्सल्टेसन सेवा र फ्रि स्क्रिनिङ टेष्ट समेत गरिएको छ ।
हेपटाइटिस बी विशेषगरी ६ वर्षदेखि १५ वर्षसम्मका बालबालिकामा देखिने अल्का अस्पतालका कलेजो रोग विशेषज्ञ डा. अनन्त श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हेपाटाइटिस संक्रमित बालबालिकालाई घाउचोट लागेर रगत निस्किएमा त्यसबाट अन्य रोग पनि सर्न सक्छ । ‘हेपाटाइटिस संक्रमित मानिसबाट अरुलाई रगत दिएमा वा यौनसम्पर्क गरेमा हेपाटाइटिस बी सर्छ’ डा. श्रेष्ठले भने ।
उनले हेपाटाइटिस बी रोगका बारेमा सबैलाई जनचेतनाको आवश्यकता भएको बताए ।
हेपाटाइटिस बीबाट बच्न समय–समयमा रगत परीक्षण गर्ने र सुई लगाउन सकिने डाक्टर श्रेष्ठले बताए ।
अहिले बालबालिकालाई खोप तालिकामा नै सरकारले हेपाटाइटिस बीको सुइ लगाउनु पर्ने व्यवस्था गरेको छ ।
पछिल्लो समय हेपाटाइटिस बी रोकथामका लागि कोरियन र आयुर्वेदिक औषधि बजारमा पाइए पनि त्यसको प्रयोग नगर्न डाक्टर श्रेष्ठले सुझाव छ । उनले भने ‘त्यस्ता औषधिले रोग निको हुँदैन, यसकारण निको हुन्छ भन्ने भ्रममा नपरौं ।’
समयमा उपचार नगरे दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित व्यक्तिमा कलेजोको सिरोसिस भई कलेजोले काम नगर्ने र लिभर फेलियर हुने डा. श्रेष्ठले बताए ।
‘कलेजोको क्यान्सरको पनि उच्च जोखिम रहन्छ । कलेजो धेरै नबिग्रिएसम्म खासै केही लक्षण नदेखिने हुनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९ जना आफू संक्रमित भएको बारे अवगत नभएको पाइएको छ’, उनले भने ।
केही रगत परीक्षण र कलेजोको कडापन नाप्ने प्रविधिबाट संक्रमित व्यक्तिमा हेपाटाइटिस बी सक्रिय छ वा निष्क्रिय, सजिलै पत्ता लगाउन सकिन्छ ।
‘सक्रिय रहेको खण्डमा हेपाटाइटिस बीविरुद्ध एन्टिभाइरल औषधिको प्रयोगबाट यो जीवाणुलाई पुनः निष्क्रिय बनाउन सकिन्छ, साथै कलेजोको सिरोसिस वा क्यान्सर हुनबाट जोगाउन सकिन्छ’, डा श्रेष्ठले भने ।
अल्का अस्पतालले आयोजना गरेको शिविरमा १०७ जनाले सेवा लिएका छन् । जसमध्ये तीन जनामा ‘हेपटाइटीस बी पोजेटिभ’ देखिएको अस्पतालले जानकारी दियो ।