अब जनकपुरमा गंगालाल राष्ट्रिय हृदयरोग उपचारकेन्द्र

जनकपुर, ९ साउन । सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्र जनकपुरधाम शाखा औपचारिक रुपमा सुभारम्भ भएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले केन्द्रको बिहीबार उद्घाटन गरेसँगै सुभारम्भ भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले हृदय रोगी सबैभन्दा बढी रहेको प्रदेशमा यस्तो शाखाको स्थापनाले बिरामीहरुलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अगामी दिनमा उक्त शाखाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारलाई सहयोग गर्न मन्त्री यादवले आग्रह गरे । उनले बहिरंग सेवाले मात्रै सबै उपचार सम्भव नरहेको बताए ।
जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल हृदय केन्द्र शाखालाई समेत त्यससँग समन्वय गराएर अघि बढाउनुपर्ने मन्त्री यादवको भनाई थियो । कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री लालबाबु राउतले हृदय केन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने बताए ।
साथै आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिवद्धता जनाए ।
मुख्यमन्त्री राउतले जनकपुर अस्पताललाई केही दिनभित्रै प्रादेशिक अस्पतालमा परिणत गर्न आफूहरु लागि परेको बताए ।
जनकपुर अस्पतालमा भौतिक संरचनामा मात्रै नभएर विशिष्ट सेवाका लागि आवश्यक उपकरण र चिकित्सकको व्यवस्था समेत गर्ने तयारी प्रदेश सरकारले गरिसकेको मुख्यमन्त्री राउतले बताए ।