शल्यक्रियाबाट सुत्केरी: विवशता कि रहर 



Download our app to get more features

काठमाडौं, ९  साउन । पछिल्लो समय नेपालमा ‘नर्मल डेलिभरी’भन्दा शल्यक्रिया (सिजरियन सेक्सन) मार्फत बच्चा जन्माउनेको संख्या अस्वाभाविक रूपमा बढ्दै गएको अध्ययन–प्रतिवेदनहरूले देखाएका छन् ।

विशेषगरी सहरी क्षेत्रका अधिकांश महिलाले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेको अध्ययनमा उल्लेख छ । ‘जर्नल अफ गाइनोलोजी एन्ड वुमन हेल्थ’मा प्रकाशित अनुसन्धानात्मक लेखअनुसार सहरी क्षेत्रका ठूला अस्पतालले शल्यक्रियाबाट ८१ प्रतिशतसम्म प्रसूति गराएका छन् ।

विश्व स्वास्थ्य संगठनले प्रसूतिमा १५ प्रतिशतसम्म शल्यक्रियालाई सामान्य मानेको छ । तर, सहरका यी अस्पतालहरूले ८० प्रतिशतभन्दा बढी शल्यक्रियाबाट डेलिभरी गराउनु विकराल अवस्था हो ।

प्रसव पीडा सहन सकिँदैन भन्ने महिलाको सोचका कारण शल्यक्रियामार्फत बच्चा जन्माउने प्रवृत्ति वर्तमान समयमा बढेको चिकित्सकहरू बताउँछन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक तथा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. जागेश्वर गौतम सामान्य डेलिभरी नगरेर शल्यक्रियाबाट बच्चा जन्माउन चाहने महिलाको संख्या बढिरहेको स्वीकार गर्छन् ।

यस्ता महिलालाई काउन्सिलिङ गरेर सामान्य डेलिभरी गराउन जोड दिए पनि ५० प्रतिशत महिला प्रसव पीडाको डरले शल्यक्रिया नै गराउन खोज्ने निर्देशक गौतमको भनाइ छ ।

‘तर, प्रसूतिगृहमा महिलाले चाहँदैमा शल्यक्रिया गराइँदैन, गर्नैपर्ने अवस्थामा मात्रै शल्यक्रियाबाट प्रसूति गराइन्छ,’ उनले भने ।

महिलाले पहिलोपटक सकेसम्म प्राकृतिक प्रसूति नै गर्नुपर्ने डा. गौतमको सुझाव छ । ‘पुरुषले गर्न नसक्ने अनुभव महिलाले गर्छन्, यसकारण पनि आमा र बच्चाको अवस्था जटिल भए मात्र शल्यक्रिया गर्नुपर्छ,’ उनले भने ।

शल्यक्रियामार्फत प्रसूति:  दीर्घकालीन समस्याको बीजारोपण
अप्राकृतिक प्रक्रियाबाट बच्चा जन्माउँदा प्रसव पीडा सहन नपरे पनि दीर्घकालीन रूपमा आमा र बच्चाको स्वास्थ्यमा जटिल समस्या निम्तिन सक्ने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. पवन शर्माले बताए ।

महिलाले क्षणिक पीडा सहने कि शल्यक्रियापछिको दीर्घकालीन पीडाको बीजारोपण गर्ने भन्ने कुरा बुझ्न आवश्यक रहेको डा. शर्मा बताउँछन् ।

‘हामीले बाहिर निस्कँदा ढोकाबाटै निस्कने हो, कारणवश ढोकाबाट नसके झ्यालबाट निस्कन खोज्ने हो, यी दुवै ठाउँबाट सम्भव नभए मात्रै अन्य विकल्प खोज्ने हो,’ उनले स्पष्ट पारे, ‘हामी सकेसम्म नर्मल डेलिभरीमै केन्द्रित हुन्छौँ, शल्यक्रियाबाट प्रसूति गराएपछि किन गरियो त ? त्यसको कारणबारे हामी तुरुन्तै छलफलसमेत गर्छौं ।’

प्राकृतिक प्रक्रियाबाट नगरी शल्यक्रिया गर्दा आमाको पेट नै चिर्नुपर्ने उनको भनाइ छ । जसले बच्चा जन्माउने प्राकृतिक सिस्टम सुरुवातबाटै बिग्रन्छ, यसले दीर्घकालीनसम्म असर देखापर्ने उनले बताए । 

निजीमा ८० प्रतिशतको प्रसूति शल्यक्रियामार्फत
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. विमलप्रसाद ढकाल पछिल्लो समय गर्भवती र उपचारमा संलग्न चिकित्सक दुवैमा धैर्य कम हुँदै गएको बताउँछन् ।

निजी मात्रै नभएर सरकारी अस्पतालका डाक्टर पनि महिलाले सहन नसकेर शल्यक्रिया गर्ने भनेको अवस्थामा कुनै काउन्सिलिङ नगरी शल्यक्रिया गर्नतिर लाग्नु गलत भएको डा. ढकालको भनाइ छ ।

उनले निजी अस्पतालमा ८० प्रतिशतको हाराहारीमा शल्यक्रियाबाट प्रसूति हुनु लाजमर्दो अवस्था रहेको बताए । ‘यससँगै सरकारी अस्पतालमा समेत शल्यक्रियाबाट प्रसूति करिब ३० प्रतिशत पुगिसकेको छ, यो दुःखद कुरा हो,’ डा. ढकालले भने ।

देखासिकीमा शल्यक्रियबाट बच्चा जन्माउने चाहना बढिरहेको भन्दै डा. ढकालले भविष्यमा प्राकृतिक प्रक्रियाबाट बच्चा जन्माउन चाहने महिला नै नहुने आशंका गरे । उनले भने, ‘महिलालाई शल्यक्रियापछिको असरबारे काउन्सिलिङको जरुरत छ, उसले त गर्यो मैले किन नगर्ने भन्ने गलत धारणा रहेमा शल्यक्रियाबाट प्रसूतिको स्थिति भयावह हुन्छ ।’
 
निजी अस्पतालमा ८१ प्रतिशत, सरकारीमा पनि बढ्दो
त्रिवि शिक्षण अस्पतालमा हुने गरेको डेलिभरीमध्ये करिब आधा शल्यक्रियाबाटै भइरहेको तथ्यांकले देखाएको छ । जर्नल अफ गाइनोलोजी एन्ड वुमन हेल्थमा प्रकाशित अनुसन्धानात्मक लेखअनुसार त्रिवि शिक्षण अस्पतालमा ३९ प्रतिशत डेलिभरी शल्यक्रियामार्फत भएको छ ।

यस्तै, मुलुककै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक वर्षमा २९ प्रतिशतले शल्यक्रियाबाट प्रसूति गराएको तथ्यांकमा उल्लेख छ । थापाथलीस्थित प्रसूतिगृहमा आर्थिक वर्ष ०७४÷७५ मा कुल २० हजार आठ सय ८२ जनाको प्रसूति भएको तथ्यांक छ ।

जसमध्ये २९ प्रतिशतको शल्यक्रियाबाट प्रसूति गराइएको तथ्यांक रहेको प्रसूतिगृहका निर्देशक गौतमले जानकारी दिए । यस्तै, चाबहिलस्थित निजीस्तरको ओम अस्पतालले ८१ प्रतिशत डेलिभरी शल्यक्रियामार्फत गराएको तथ्यांक छ । 

जर्नल अफ गाइनोलोजी एन्ड वुमन हेल्थमा प्रकाशित अनुसन्धानात्मक लेखले देखाएको आँकडाअनुसार सामान्य डेलिभरीभन्दा शल्यक्रियामार्फत डेलिभरी गराउनेको संख्या भयावह रूपले बढेको देखिन्छ । 
    
नाफा लिन खोज्दा र  जोखिम लिन नखोज्दा निजी अस्पतालमा धेरै शल्यक्रिया
केही निजी अस्पतालले भने आर्थिक लाभ लिन खोज्दा र  जोखिम लिन नखोज्दा डेलिभरीमा अनावश्यक सि–सेक्सन अपनाउने गरेको आरोप लाग्ने गरेको छ ।

शल्यक्रियाबाट डेलिभरी गराउँदा शल्यक्रिया खर्चसँगै अस्पताल बसाइ वा अनुदान पाउने अस्पतालले बढी अनुदानका लिन शल्यक्रियाबाट प्रसूतिको गर्ने गरेको एक चिकित्सकले बताए ।

कतिपय अवस्थामा भने महिला स्वयंले प्रसव पीडाको मुक्तिका लागि आफैँले शल्यक्रियाबाट प्रसूति गर्न चाहने चिकित्सकहरूको भनाइ छ ।

यस्ता महिलाले क्षणिक वेदनालाई सहन नसक्दा आफू र बच्चाको समेत स्वास्थ्यमा दीर्घकालीन जोखिम निम्त्याइरहेको प्रसूतिका निर्देशक डा. गौतम बताउँछन् । 

आमाको शल्यक्रिया बच्चामा पनि असर
स्वाभाविक प्रसूतिको तुलनामा शल्यक्रियामार्फत जन्मेका बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमै जोखिम रहने डा. ढकाल बताउँछन् ।

उनले पछिल्लो समय अस्वाभाविक रूपमा बढिरहेको डेलिभरीको अप्राकृतिक प्रक्रिया आमा र बच्चा दुवैका लागि हितकर नभएको बताए ।

‘प्राकृतिक रूपमा जन्मिएका बच्चा र अप्रेसन गरेर जन्मिएका बच्चामा धेरै अन्तर हुन्छ,’ डा. ढकालले भने, ‘अप्रेसन गरेर जन्मिएको बच्चामा दमरोग, डाइबिटिजजस्ता नसर्ने रोग देखिने सम्भावना बढी हुन्छ ।’

शल्यक्रिया गर्दा सुरुवातमै आमाको पेट चिरिन्छ, त्यसपछि रगतसमेत बग्छ, यस्तो अप्राकृतिक शल्यक्रियाले आमा र बच्चाको स्वास्थ्यमा नै प्रत्यक्ष रूपमा असर पर्ने उनले बताए ।

शल्यक्रियाबाट प्रसूति गराएपछि सुत्केरीलाई सामान्य अवस्थामा आउन पनि बढी समय लाग्ने डा. ढकाल बताउँछन् ।

किन बढ्दै छ अप्राकृतिक डेलिभरी ?
पछिल्लो समय कतिपय अप्राकृतिक गर्भधारणका कारण पनि सि–सेक्सन बढेको डा. ढकालले बताए । उनका अनुसार गर्भावस्थामा आराम, व्यायाम, पोषणको सन्तुलन नमिल्नाले पनि प्रसूतिको समयमा समस्या आउँछ, जसले अप्राकृतिक प्रसूति निम्त्याइरहेको छ ।

‘गर्नैपर्ने अवस्थामा त प्रविधिको प्रयोग गर्नु नै पर्यो, तर निजी अस्पतालहरूसँगै सरकारी अस्पतालमा अनावश्यक सिजरियन सेक्सन बढिरहेका छन्,’ डा. ढकालले भने । 

यस्तो अवस्थामा मात्रै गर्नुपर्छ सि–सेक्सन 
सामान्यतया बच्चा आवश्यकताभन्दा ठूलो भएमा तथा बच्चा आउने बाटो सानो भएमा, बच्चाले पेटभित्रै दिसा गरेमा शल्यक्रियाबाट प्रसूति गर्नुपर्ने डा. शर्माले बताए ।

यससँगै उच्च रक्तचाप भएका गर्भवती जसलाई सुत्केरी बेथा लगाएर डेलिभरी गराउन पर्याप्त समय हुँदैन, बच्चाको मुटुको धड्कन तलमाथि भएको अवस्था, लामो समयसम्म महिलालाई सुत्केरी बेथा लागेको अवस्था, सामान्यतया पाठेघरको माथि बस्ने साल तल बसेको अवस्थामा डेलिभरीका लागि शल्यक्रिया विधि अपनाउनुपर्ने उनले बताए ।

मधुमेहका रोगी आमामा पनि प्रसूतिका लागि सि–सेक्सन आवश्यक हुने डा. शर्माले बताए ।

उनका अनुसार दुब्ला–पातला महिलामा भन्दा मोटा महिलामा सिजरको दर धेरै हुने गरेको छ । तर, मोटो हुँदैमा सिजरमै जानुपर्छ भन्नेचाहिँ नभएको डा. शर्माको भनाइ छ । 

 

Last modified on 2019-07-26 12:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts