जब मृत्युको मुखबाट फर्किएका राजन वर्षौंपछि चक्लेट लिएर डाक्टर भेट्न पुगे 

What's This?


Download our app to get more features

काठमाडौं, ८ साउन । दश वर्ष अगाडिको कुरा हो । नुवाकोटकी एक महिला आफ्नो एक्लो १५ वर्षे छारो बिरामी भएपछि हतास हुँदै वीर अस्पताल पुगिन् । त्यहाँ उनले मिर्गाैला रोग विशेषज्ञ डा. अनिल बराललाई आफ्नो छारोको उपचारका लागि भेटिन् । एकल महिलाको एकल छारो राजन (नाम परिवर्तन) बिरामी हुँदाको पीडा उनमा थियो । बाँच्ने आशा एकदम कम थियो । अल्लारे छोराको यस्तो अवस्था हुँदा आमाको अस्पताल बसाईभरी आँखाबाट आँशु टुटेन । छोरा लगभग मृत्युको मुखमा पुगेको त्यस अवस्था साँच्चै दर्दनाक भएको १० वर्षपछि चिकित्सकले सम्झिएका छन् । 
त्यतिबेला उनको उपचारको सुरु भयो । त्यसपछि निरन्तर छ–सात वर्ष औषधि सेवन गरेपछि उनी औषधिबाट मुक्त भए । 

चिकित्सकले यो सब बिर्सिसकेका थिए । हजारौं बिरामीको उपचार गर्ने चिकित्सकले सबै बिरामीलाई सम्झेर पनि त सकिँदैन । तर, राजनलाई यतिबेला चिकित्सकले सम्झिए वा चिनेमात्र होइन । दश वर्षपछि स्वस्थ शरीर लिएर आफुलाई भेट्न आउँदा भावुक पनि भए । दशवर्षमा समय धेरै परिवर्तन भयो । त्यो किशोर अहिले लक्का जवान भएको छ । घरबार जोड्ने अभिप्रायले कोरियाबाट नेपाल फर्किएको छ । 

चिकित्सक बराल सामाजिक सञ्जालमा सम्झन्छन्, जब उनले औषधिबाट मुक्ति पाए तब कोरियन भाषा पढ्न थाले । कोरियन भाषा पास गरेर उनी कामको लागि कोरीया गए । अहिले कोरिया बसाइको डेढ दुई वर्ष पछि छुट्टीमा नेपाल आएका छन् । 

नेपालमा आउन साथ राजन बुबाआमालाई समेत नभेटी डाक्टरलाई भेट्न पुगेका छन् । उनी डाक्टरलाई भेटेर भन्छन् –हिजो साँझ ल्यान्ड गरेको, आमासंग भरे गाउँ गएर भेट्ने हो । तपाइलाई भेट्न पहिला आएको 

उनले यति मात्र भनेनन् आफुले बिहे गर्न लागेको पनि सुनाए र समय मिलाएर आउन डा. बराललाई आग्रह गरे । साथमा राजनले एक पाकेट चक्लेट चिकित्सकलाई दिए । डा. बराल सामाजिक सञ्जालमा चक्लेटको फोटो सहित घटनाको वर्णन गर्दै अन्तिममा लेख्छन्–म त यसै टोलाएँ....टोलाउँदै छु । आज पनि राजनकी आमाको आँखामा फेरी आँशु नै बग्ने होला, जसरी छोरालाई लिएर अस्पताल बस्दा झरेको थियो । 

चिकित्सक र बिरामीबीच अत्यन्त भावनात्मक सम्बन्ध रहन्छ भन्ने कुरा यो घटनाले पनि बताउँछ । मृत्युको मुखबाट फर्काएर जीवन दिने चिकित्सकहरुलाई बिरामीले बिर्सन्छ पो कसरी । सम्झिरहन्छ सँधैभर । जीवनभर । 

नोटः बिरामीसँग सम्पर्क स्थापित हुन नसकेकाले उनको नाम र रोगकाबारेमा जानकारी गोप्य राखिएको हो । 

स्रोतः डा. बरालको फेसबूक   
 

Last modified on 2019-07-25 15:01:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts