चार जिल्लामा १० हजार प्रभावितलाई तीन महिना पुग्ने आपतकालिन स्वास्थ्य किट पठाइयो

काठमाडौं, ८ साउन । बाढी प्रभावित क्षेत्रमा युनिसेफबाट १० हजार प्रभावित जनसंख्यालाई तीन महिना पुग्ने आपतकालिन स्वास्थ्य किट पठाइएको छ । रौतहट, सर्लाही, सिराहा र महोतरीमा ४ वटा आपतकालिन स्वास्थ्य किट दश हजार जनसंख्यालाई तीन महिना पुग्ने गरी पठाइएको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले जनाएको छ । इकाईका अनुसार अन्य दुई जिल्लामा आवश्यकतानुसार जनकपुरमा तयारी रहेको छ ।
असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरकै जनजीवन प्रभावित भएको छ ।
हालसम्म स्वास्थ्य शिविर गरी एक हजार २४ जनालाई सेवा दिइसकेको पनि इकाईले जनाएको छ । बाढीका कारण २२ वटा स्वास्थ्य संस्था डुवानमा परेका हुन् । इकाईका अनुसार रौतहतमा ८, सर्लाहीमा ११, महोत्तरीमा ३ गरी जम्मा २२ स्वास्थ्य संस्था डुवानमा परेका हुन् ।
सर्पदशंका बिरामी बढे
त्यसैगरी वर्षासंगै आएका बाढीपछि तराईमा सर्पदशंका बिरामी पनि बढ्ेको पाइएको छ । इकाईका अनुसार असार २७ देखि साउन २ गतेसम्म २ सय ६३ सर्पदशंका बिरामी फेला परेका छन् । जसमध्ये सात जनाको मृत्यु भएको छ ।
महामारीको अवस्था
इकाईले हाललाई कुनैपनि महामारीको अवस्था नभएको दावी गरेको छ । तर झाडापखला, ज्वरो र सर्पदंशका बिरामी बढेको जनाएको छ ।
साथै प्रदेश नं. २ मा हाल स्वास्थ्य शिविरको आवश्यक नरहेको पनि इकाइले जनाएको छ । अहिले स्वास्थ्यकर्मी मार्फत घरभेट, जनचेतनामुलक कार्यक्रम संचालनमा रहेको छ ।
तस्विर: विश्व स्वास्थ्य संगठनबाट