प्रदेश ५ का सामाजिक विकास मन्त्री स्वास्थ्यकर्मी र औषधि सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मीमा

रुपन्देही, ७ साउन । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल औषधि तथा स्वास्थ्यकर्मी र बन्दोबस्तीको सामान सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मी पुगेका छन् ।
मन्त्री बराल सहित स्वास्थ्यकर्मी, रेडक्रस टोली तथा गैरसरकारी संस्था सहितको टोली लिएर आवश्यक औषधि, बन्दोवस्तीका सामान लत्ताकपडा लगायतका सामग्री लिएर घटनास्थल तर्फ गएको मन्त्रीका निजी सचिवालयले जनाएको छ ।
गयराति देखि परेको अविरल वर्षासँगै आएको पहिरोका कारण गुल्मीको सत्यवती गाँउपालिका वडा नं. ३ ठूलो लुम्पेक र वडा नं. ४ लिम्घामा १० जनाको मृत्यु भएको र २ जना अझै बेपत्ता छन् । पहिरोमा परि आधा दर्जन भन्दा बढी घाईते भएको जिल्ला प्रसाशन कार्यालय गुल्मीले जनाएको छ ।
यसैबीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त घटनामा परी मृत्यु भएकाहरु प्रति समवेदना प्रकट गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै विपदमा वेपत्ता भएकाहरुको खोजी कार्यलाई तिव्रता दिन, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामन गर्दै उपचारमा कुनै कमि नहुने बताए ।
साथै घटनास्थलमा मृतकका परिवारलाई राहत रकम समेत बाड्ने तयारी रहेको मन्त्रीका स्वकिय सचिव यदु ज्ञवालीले बताए । मन्त्री बरालले सबैको सहयोग तथा सहकार्यमा उपचार तथा राहतमा कुनै कमी हुन नदिने बताएका छन् ।