बाढीले खोप डुबाएपछि दाता गुहार्दै सरकार

महोत्तरी, ७ साउन । बाढी र डुबानका कारण साउन ११ मा लगाउन तयार पारिएको खोप बिग्रिएपछि सरकारले दाता गुहारेको छ ।
महोत्तरी स्वास्थ्य कार्यालयभित्र पसेको पानीले स्टोरमा राखिएका विभिन्न प्रकारका आठ हजार आठ सय तीनवटा खोप बिग्रिएपछि सरकारले दाता गुहारेको हो ।
आवश्यक खोप खरिद गर्न प्रक्रियामा जाँदा समय लाग्ने भन्दै सरकारले दाता गुहारेको हो ।
कति खोप बिग्रेका हुन् र कतिलाई आंशिक रूपमा प्रयोग गर्न मिल्छ भन्नेबारे अनुगमन गर्न दातासहितको टोली सोमबार नै महोत्तरी गएको छ । टोलीमा परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रादेशिक स्वास्थ्य निर्देशनालय र प्रादेशिक आपूर्ति केन्द्रका प्रतिनिधि सहभागि छन् ।
परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले बाढीका कारण ठूलो परिमाणमा भ्याक्सिन बिग्रिएको बताए ।
ठूलो मात्रामा भ्याक्सिन नष्ट भएपछि साउन ११ गतेदेखि लगाइने नियमित खोप प्रभावित हुने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।