मृतकका परिवारलाई अस्पतालले साढे चार लाख दिने सहमति

धनुषा, ६ साउन । जनकपुरस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ५२ वर्षीय विन्देश्वर ठाकुरको परिवारलाई अस्पताल प्रशासनले चार लाख ५० हजार क्षतिपूर्ति दिने भएको छ । ठाकुरका परिवार र आफन्त उपचारको क्रममा अस्पतालले लापरवाही गरेको भन्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले क्षतिपुर्तिको माग गर्दै शब नउठाउने अडान लिएका थिए । क्षतिपूर्ति दिने सम्झौतापछि उनीहरुले अस्पतालबाट शव उठाएका छन् ।
सहनै नसक्ने गरी पेट दुख्न थालेपछि विन्देश्वरलाई आईतवार बिहान ८ बजे अस्पताल ल्याइएको थियो । उनी बटेश्वर गाउँपालिका– ३ का बासिन्दा हुन । अस्पताल आउनु अघि नै विभिन्न औषधि सेवन गरेका कारण उनको मृत्यु भएको अस्पतालको भनाइ छ । तर उनका आफन्त र स्थानीयले भने अस्पताललाई दोष दिदै आएका थिए । आईतवार साँझदेखि अस्पताल प्रशासन र पीडित परिवारबीच चलेको वार्तापछि चार लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको हो । सम्झौतापछि राति ९ बजे मृतकका परिवारले शव उठाएको स्थानीय राममणि कुशवाहाले बताए ।
एक महिना अघि पनि जनकपुरको आस्था हस्पिटलले एक जना महिलाको प्रसूति गराएबापत पाँच लाखको बिल थमाएका थिए । त्यसपछि स्थानीयले बिरोध गरेपछि ३५ हजार रुपैयाँ लिएर बिरामी डिस्चार्ज गरेको थियो । पछि अनुगमनको क्रममा हास्पिटललाई प्रशासनले शील समेत गरिसकेको छ ।