यसकारण बनाउँदैछन् डा. भगवान कोइरालाले अत्याधुनिक बाल अस्पताल

काठमाडौं, ५ साउन । नेपालको कुल क्षेत्रफलको चालिस प्रतिशत अठार वर्ष मुनिका बालबालिका रहेका छन् । ती बालबालिका लागि उच्च गुणस्तरयुक्त बाल सेवा आवश्यक रहेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइराला बताउँछन् ।
नेपालमा उपचारको केन्द्र र सेवाको अभाव हुँदा वर्षेनि बाल मृत्युदर बढ्दोक्रममा छ ।
विगत २० वर्षदेखि बालस्वास्थ्य उपचारमा केही सुधार भएता पनि बिचमा गएर बाल मृत्युदर घट्नेक्रम रोकिएको डा. कोइरालले बताए । विगत १० वर्षदेखि यो घट्ने दर रोकिनुको कारण नसर्ने रोग नवजात शिशुमा पनि बढिरहेको छ ।
डा कोइरालाका अनुसार हाल करिब–करिब एक तिहाइ भन्दा बढी नवजात शिशुमा कुनै न कुनै नसर्ने रोग छ ।जसअन्तर्गत जन्मजात समस्या, पक्षघात, मिर्गौला फेल, मधुमेहलगायत नसर्ने रोग हुन्छ ।
यो ठूला मानिसलाई मात्रै लाग्ने रोग नभएको बताउँदै डा कोइरालाले बच्चाहरुमा पनि हुने बताए ।
‘पहिला बाल मृत्युदर बढ्नुमा डिएनए इन्सेप्सनको भूमिका थियो’, अहिले भने बाल मृत्युदर बढ्नुमा जन्मजात हुने समस्याका योगदान रहेको छ’, उनले प्रष्टाए । ‘यसकारण, अब बालरोगसम्बन्धी विशिष्टीकृत सेवा र जटिल रोगको उपचार गर्ने व्यवस्था नगरी बाल मृत्युदर घट्नेवाला छैन’, डा कोइरालाले भने ।
सोकारण नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउपचार तथा विशेषज्ञको अस्पताल स्थापनामा जुटेको डा. कोइरालाको तर्क छ ।
उनको नेतृत्वमा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले शनिबार एक समारोहबीच उक्त ‘प्रोजेक्ट’को योजना सार्वजनिक गरेको हो ।
जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापनाका गर्न कोइराला नेतृत्वको इन्स्टिच्युट जुटेको छ ।
किओचले सुरुमा राजधानीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने भएको छ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा. कोइरालाले जानकारी दिए ।
सातवटै प्रदेशमा अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लगानीको अनुमान गरिएको छ ।
सन् २०२२ भित्र सबै अस्पताल निर्माण गरिसक्ने किओचको लक्ष्य रहेको डा कोरालाले बताए ।
राजधानीमा अस्पताल स्थापना गर्नका लागि कम्तीमा ४० रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि सरकारबाट लिजमा लिने योजना रहेको डा कोइरालाले जानकारी दिए ।
उनले यो काम नेपाल सरकार, विभिन्न गैरसरकारी संस्था, निजी क्षेत्रलगायतको साथ र सहयोगसँगै काम गर्ने बताए ।
यससँगै देश तथा विदेशमा रहेका नेपाली तथा शुभचिन्तकबाट सहयोगको अपेक्षा गरिएको छ।
‘नेपालमा मातृ शिशु मृत्युदर घटाउने लक्ष्य रहेको छ, जसका लागि गुणस्तरीय र उपचारमा दक्षता ल्याउनु पनि उद्देश्य हो,’ डा कोइरालाले भने, ‘ हालसम्मको सम्पूर्ण कामको अनुभव म यसैमा प्रयोग गर्छु र रिटायर्ड जीवनको पन्ध्र/बीस वर्ष बालबालिकाको उपचारमा बिताउँछु।’
किओचमा बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत, उद्योगी भवानी राणा, दीपक सापकोटा, डा. ज्योतिन्द्र शमा, गोविन्द प्रसाद अधिकारीलगायतको सात सदस्यीय समिति रहेको छ ।
यसले विभिन्न व्यक्ति र संस्थासँग अस्पताल सञ्चालनको लागि परामर्श गरिरहेको छ। हालसम्म एक करोडभन्दा बढी रकम संकलन समेत भइसकेको छ ।
किओचको गुडविल एम्बेसडर भने भारतीय टेलिभिजन च्यानलको सांगितिक कार्यक्रम ‘सारेगमप’का सेकेन्ड रनरअफ नेपाली बालक प्रितम आचार्यलाई बनाइएको छ।