काममा फर्किएका डडेल्धुरा अस्पतालका चिकित्सकलाई राजनीतिक दबाब
डडेल्धरा, ३१ असार । चिकित्सकले छाडेर जाँदा ५ दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सबै सेवा सुचारु भएको छ । काम गर्न असुरक्षित भएको भन्दै कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुरा जिल्ला अस्पतालका चिकित्सकहरु काममा फर्किएका छन् ।
सोमबार साँझ जिल्ला सदरमुकाम पुगेका चिकित्सक मंगलबारदेखि नियमित काममा फर्किएका हुन् ।
सुरक्षाको लागि अस्पतालमा सुरक्षाकर्मी परिचालित गरिएको छ । अस्पताल र चिकित्सक माथि एकपछि अर्को आक्रमण हुन थालेपछि प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको हो ।
२२ जनाको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । कुनै समस्या परे आफूलाई भन्न पनि मेसुलाई भनेको उनको भनाइ छ ।
अस्पतालमा पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि हातपात गरिएको भन्दै जिल्ला अस्पतालमा कार्यरत १० जना चिकित्सकले शुक्रबादेखि जिल्ला छाडेका थिए ।
जिल्ला प्रहरी कार्यालयले चिकित्सकमाथि हातपात गर्नेमध्ये एक व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रियाअघि बढाएसँगै चिकित्सकहरु काममा फर्किएका हुन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा दिने प्रतिबद्धता जनाएपछि चिकित्सकहरु मंगलबारदेखि काममा फर्किएको अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए ।
‘मुख्यमन्त्रीज्यूले दोषीलाई समाएर कारबाहीको अगाडि बढाउँछौँ र तपाईँको सुरक्षाको हामी दिन्छौँ भनेपछि डाक्टरहरु सोमबार पुनः डडेल्धुरा फर्किसक्नुभएको छ ।’ मेसु कँडेलले भने,‘हामीले दिन सक्ने सेवा अहिले दिइरहेका छौँ।’
अस्पतालमा गत असार २५ गते सवारी दुर्घटनामा परी मृत्यु एक व्यक्तिको पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए ।
चिकित्सकमाथि आक्रमण हुँदा ७ महिनादेखि डडेल्धुरा अस्पतालमा कार्यरत डा. दिनेश उपाध्यायको घुँडामा चोट लागेर घाइते भएका थिए ।
प्रहरीमा दिएको किटानी फिर्ता लिन मेसुलाई दबाब
अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी दर्ता गरिएको छ ।
प्रहरीमा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएसँगै राजनीतिक दबाब दिन सुरु भएको मेसु कँडेलले बताए । उनले पटक पटक नेताहरुको किटानी फिर्ता लिन दबाब आइरहेको बताए ।
‘हामीले प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराइसकेका छौँ तर त्यो किटानीलाई लिएर राजनीतिक दबाब सिर्जना हुन सुरु भइसकेको छ ।’ उनले भने,‘यहीँ माहोल रहने हो भने ‘प्रेसर’मा काम गर्न सकिने परिस्थिति रहँदैन ।’
मंलबारदेखि सेवा सुचारु हुन नपाउँदै फेरी अर्को राजनीतिक दबाब सुरु भएको उल्लेख गर्दै उनले दबाद सहन नसकेपछि आ–आफ्नो जिम्मेवारी छोड्न सक्ने परिस्थिती पनि आउन सक्ने बताए ।