विराटनगरः डुबानले विस्थापित भएर विद्यालयमा रात काट्ने अधिकांशमा छालाको समस्या देखियो
विराटनगर, ३१ असार । बाढीका कारण घर डुबानमा परेपछि शुक्रबारदेखि बखरी स्कुल दरैयाको सरणमा बसेका विराटनगर सिमराही टोलका ४ सय जना मुसहर पिडितहरुलाई छालाको समस्या देखिन थालेको छ । केसलिया खोला र धुधुवा पैनीमा आएको बाढीले घर डुवानमा परेपछि बखरी स्कुलको सरणमा बसेका उनिहरुलाई विद्यालयमा भएको हिलोले छाला सम्ब्न्धी समस्या देखिन थालेको हो ।
बाढी पिडितहरुले न खान लाउन पाएका छन् न त निदाउन सकेका छन् । सानो विद्यालय, मानिसको चाप बढी र विद्यालय समेत हिलाम्य भएपछि रात कटाउन मुस्किल परेको छ । अझ शरिर भरी चिलाउने, पोल्ने खालको समस्या र लाम्खुट्टेको टोइकाइबाट डेंगु लगायत अन्य रोग लाग्न सक्ने जोखिम बढेको छ ।
विराटनगर महानगरपालिकाले आइतबार बखरी स्कुलमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो । जाँच गराउने अधिकांशमा छाला चिलाउने, ज्वरो र खोकीको समस्या देखिएको छ । विभिन्न संघसंस्थाहरुले सुत्न मेट्रेस दिएपनि झुलको व्यवस्था नहँुदा सुत्न समस्या भइरहेको छ ।
एक परिवारमा ७ देखि १० जना सदस्य छन् । तर एक परिवारका लागि एक मेट्रेस दिइएको छ जुन अपर्याप्त छ । विराटनगर महानगर १२ सिमराहि, दरैया, मलङ्गवा र महतो टोलका लगभग सबैजसो घर डुबानमा परेका छन् । यी मध्ये लगभग ४ सय जनाले शुक्रबारदेखि नै घर छोडेर बखरी स्कुलको शरण लिएका हुन् ।
१२ नम्बर वडा मात्रै नभई विराटनगर महानगरपालिकाका र कटहरी गाउँपालिकाको सीमानामा पर्ने सिंघिया खोलाको किनारको सुकुम्बासी बस्तीमा बसोबार गर्नेहरु पनि हरेक वर्ष बाढीको प्रकोपमा पर्छन् । तर, सुरक्षित र भरपर्दो बसोबारको व्यवस्था नहँुदा जति पटक विस्थापित भएपनि जोखिम टरेपछि उनीहरु फेरि फर्केर पुरानै ठाउँमा जाने गरेका छन् ।
बाढीका कारण विराटनगर महानगरपालिकाका सबै जसो वडाहरु प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । खासगरी १, ६, ७, ८, १२ र १६ नम्बर वडाका करिब एक हजारजना बाढीका कारण विस्थापित बनेको जनाइएको छ ।