चिकित्सकमाथि हातपात भएपछि डडेल्धुरा अस्पतालको सेवा ठप्प, हातपात गर्नेमध्ये एक पक्राउ



Download our app to get more features

डडेल्धुरा, असार २९ । डडेल्धुरा अस्पतालका चिकित्सकहरुले आफुहरुमाथि बेलाबेला भएको दुव्र्यवहारले  अस्पतालमा बस्ने वातावरण नभएको भन्दै सेवाबन्द गरेका छन् । कार्यक्षेत्रमा काम गर्दा आफुहरुले असुरक्षित महसुस गरीरहेको भन्दै अस्पताल छोडेर जाँदा अस्पतालको सेवा प्रभावित भएको छ  ।

घटना के हो ?
प्रहरीले बुधबार बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्याएको थियो । थियो । चिकित्सकहरूले ११ः३५ तिर शव परीक्षण शुरु गरेका थिए । वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा.जीवन खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ।

आक्रमणपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका छन ।

सेवा बन्द भएपछि मारमा सेवाग्राही
अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि टाढाटाढाका सेवाग्राहीले अहिले सास्ती भोगिरहेका छन्। 

अस्पतालमा डाक्टर नहुँदा आफूहरुलाई समस्या भएको दार्चुलाको लेकम गाउँपालिका–५ का लक्ष्मण बोहराले बताए। ‘दार्चुला बाट यहाँ आए। आन्दोलनका कारण अस्पतालमा डाक्टर केही छैनन्।’ उनले भने,‘टाढाबाट यहाँ आए उपचार होला भनेर तर उपचार भएन। समस्या नै भो।’
 आक्रोशित चिकित्सकले सेवा ठप्प पार्दा सेवाग्राही भने महँगो शुल्क तिरेर निजी अस्पतालहरुमा जान बाध्य छन् ।

सदरमुकामै रहेको एक निजी क्लिीनिकमा शुक्रवार विहानै देखी सेवाग्राहीको भिड लागेको छ । ‘यहाँ अत्यन्त महङगो शुल्क छ, तर के गर्ने विरामी भएपछी आउनै पर्यो’ सेवाग्राही प्रेम विष्टले भने ‘विरामीको चाप धेरै भएकाले उपचार पाउन पनि समय लागीरहेको छ ।’

मेसु कँडेल भन्छन् ‘काम गर्न सक्ने अवस्थामा छैन’
चिकित्सकमाथि आक्रमण हुँदा डा दिनेश उपाध्यलाई घुँडामा चोट लागेर घाइते भएपछि आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्किने भनी चिकित्सकले काम छोडेको अस्पतालका मेसु डा जितेन्द्र कँडेलले जानकारी दिए।

‘बुधबार चिकित्सकमाथि आक्रमण भयो। त्यो क्रममा डा दिनेशको घुँडामा चोट लागेको छ। डाक्टरहरुले आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दा पनि कुनै ठाउँबाट सुनुवाइ भएन।’ उनले भने, ‘डाक्टर सावहरु शुक्रबार बिहानदेखि काम छोड्नुभएको छ। अहिलेलाई म एकजना मात्रै छु अस्पतालमा।’ 

उनले आफू पनि यहीँ परिस्थितीमा काम गर्न सक्ने बताए। ‘यहीँ परिस्थितीमा म पनि काम गर्न सक्ने अवस्थामा छैन।’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीज्यूलाई मेरो प्रशासनिक र आर्थिक जिम्मेवारी हजुर लिनुस् भन्छु!’

चिकित्सकको सुरक्षाको जिम्मेवारी म लिन्छु: प्रजिअ
अस्पतालमा कार्यरत चिकित्सकको सुरक्षाको जिम्मेवारी आफूले लिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडेलले बताए।

‘अस्पतालमा उत्पन्न परिस्थितीका बारेमा सरोवारवालहरुसँग छलफल गरिरहेको छौँ। यहीँ क्रममा डाक्टर सावहरुले काम छोडेको जानकारी पाएको छु।’ उनले भने,‘उहाँहरु काममा फर्काउन वा नयाँ व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिसकिएको छ र उहाँहरुको सुरक्षाको जिम्मेवारी सिडिओको हैसियतले म लिन्छु।’

घटनाबारेमा वडा अध्यक्षको स्पष्टोक्ति
बिहीबार बसेको सरोकारवालाहरुको बैठकमा अमरगढी नगरपालिका–११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काले घटनामा आफूलाई जोड्नु गलत भएको बताए।

आफन्तको मृत्युको शोकमा रहेका बेला गम्भीर प्रकृतिका आरोप लगाउनु गलत भएको अध्यक्ष खड्काले बताए। 

अस्पतालका सेवाका विषयमा चिन्तित रहेको र गुणस्तर सुधारका लागि आफ्नो भूमिका निभाइरहेका बेला भ्रम सिर्जना गरि गलत प्रचार नगर्न समेत अध्यक्षले आग्रह गरे।

आफ्नो वडाका नागरिकहरुले गरेको दुव्र्यवहारबारे चिकित्सकहरु संग क्षमायाचना गरेको र अध्यक्षको नेतृत्वमा आक्रमण भयो भन्नु गलत बुझाइ रहेको उनको भनाइ छ।

जनप्रतिनिधिले अस्पतालका डाक्टरहरुको सुरक्षा गर्ने भन्दै अध्यक्ष खड्काले केही व्यक्तिहरुको राजनीतिक उक्साहटमा डाक्टरहरुले लाग्न नहुने बताए।

डाक्टरले पोष्टमार्टम गर्दा दुव्र्यवहार गर्न खोज्नेलाई आफूले सोही स्थानबाट हप्काएर फर्काएको बताउँदै अध्यक्ष खड्काले डाक्टरहरुलाई संयमित भएर सेवामा फर्किन आग्रह गरे।

अस्पतालमा शव पु¥याएको ५ घण्टासम्म पनि पोष्टमार्टम नभएपछि केही व्यक्तिहरुले लासघरको टिन र ढोकामा हानेको प्रत्यक्षदर्शीहरुको भनाइ छ। उता अस्पतालले भने पोष्टमार्टमका लागि जिल्ला प्रहरीको आदेशपत्र नपाएकाले ढिलो भएको बताएको छ।

पहिले पनि यस्तै घटना 
यसअघि उपचारको क्रममा गत जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तोडफोड भएको थियो।

अप्रेशनगरी शिशु जन्माएकी ताम्राकारको अस्पतालमा मृत्यु भएपछि अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। मृतकका आफन्तसंग तीन बुँदे सहमति भएपछि त्यतिबेलाको विवाद सम्य भएको थियो ।

पछी असार १२ गते नागरिक समाज डडेल्धुराको सर्वपक्षीय बैठकमा चिकित्सकमाथि कुनै खाले धरपकड नहुने भन्दै चिकित्सक काममा फर्केका थिए । 

सुदूरपश्मिको पहाडी जिल्लाको रिफरल सेन्टर बनिरहेको डडेल्धुरा अस्पतालमा गत जेठ ३१ गते पनि सुत्केरीको मृत्यु पश्चात विवाद आइ चिकित्सकमाथी हातपात र अस्पतालमा टोडफोड भएको  थियो ।

अहिले पनि सोही प्रकारको घटना पुन दोहोरीएकोमा चिकित्सक आक्रोशित भएका छन । आक्रोशित चिकित्सकले सेवा ठप्प पार्दा सेवाग्राही भने महङो शुल्क तिरेर निजी क्लिनीकमा जान बाध्य छन ।

हातपात गर्नेमध्ये एकजना पक्राउ

जिल्ला सदरमुकामा रहेको डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चिकित्सकहरुको उजुरीका आधारमा आइतबार दिउँसो शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ। ‘आज दिउँसो एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।’ प्रजिअ पौडेलले भने,‘अहिले प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।’ 

Last modified on 2019-07-15 08:48:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts