महामारी फैलन नदिन प्रदेश २ मा 'उच्च सतर्कता'

जनकपुर, २९ असार । तराईका विभिन्न जिल्लामा आएको बाढीबाट उत्पन्न हुनसक्ने संकट तथा महामारी फैलिन नदिन प्रदेश २ सरकारले उच्च सर्तकता अपनाएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी र पहिरो लगायत विपतका कारण फैलन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवा व्यवस्थापनका लागि केन्द्रसहित सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ । प्रदेश २ का सम्पर्क व्यक्ति डा. विजयकुमार झाका अनुसार प्रदेश २ अन्तर्गतका विभिन्न जिल्ला अस्पताल, स्वास्थ्य चौकी, औषधि पसलहरु पनि डुबानमा परेका छन् । बाढीका कारण अस्पताल परिसरमा पानी पसेपछि उपचार गराउन आउने बिरामी सास्ती भोगिरहेका छन् । यद्यपि, प्रदेश २ का अस्पतालमा पुगेर उपचार गर्नसक्ने वातावरण रहेको डा. झाले बताए । उनका अनुसार बाढीपछिको महामारी फैलिन नदिन जनचेतनाका काम भएरहेको छ ।
बर्खासँगै आएको बाढीले गर्दा खानेपानीको स्रोत दुषित हुने हँुदा कसरी स्वच्छ पानी खाने भन्ने बारेमा सन्देश दिन थालिसकिएको पनि डा. झाले बताए ।
आवश्यक औषधिको व्यवस्थाका लागि केन्द्र सरकारसँग समन्वय गरेर उपलव्ध गराउने पनि उनले बताए । उनका अनुसार सबै ठाउँको रिर्पाेट आइ नसकेकाले कहाँ के कस्तो अवस्था छ भन्ने बारेमा पूर्ण जानकारी छैन । उनले भने, ‘सबै स्वास्थ्य संस्था डुबेका छैनन् । उपचारका लागि अस्पतालन जान आउन सक्ने अवस्था छ । औषधि अभाव पनि भएको छैन । महामारी पनि फैलिएको छैन् । '
प्रदेश २ मा अहिले खानेकुरा, सरसफाईदेखि लिएर समुदायको सरसफाइ, खानेपानीको स्वच्छता लगाएत विषयमा सुचना प्रवाह भइरहेको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार प्रदेश ५ मा पनि महामारी फैलन नदिने गरी औषधि, चिकित्सकीय उपकरण र चिकित्सकलाई तयारी अवस्थामा राखिएको छ । प्रदेशका कुनै पनि स्थानमा महामारीको जोखिम नरहेको उनको भनाइ छ ।