बाराका स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधि अभाव

बारा, २९ असार । बारा जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा सरकारले उपलब्ध गराउने निःशुल्क औषधिको अभाव भएको छ । १ जिल्ला अस्पताल, ६ प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेका दर्जनौ सरकारी स्वास्थ्य संस्थाहरुमा राज्यले निशुल्क उपलब्ध गराएको औषधिको अभाव सृजना भएको हो । जसका कारण स्थानिय उपचार गराउन निजी स्वास्थ्य संस्थाहरुमा जान बाध्य भएका छन् ।
जिल्लामा रहेका १६ बटै स्थानीय तहमा सवारी साधन लगायत सुविधा सम्पन्न भए पनि समयमा स्वास्थ्य केन्द्रलाई औषधि उपलब्ध नगराउन सेवाग्राहीहरु निजी स्वास्थ्य संस्थामा गएर औषधि उपचार गर्न बाध्य भएका छन । राज्यले उपलब्ध गराउने औषधिमा करिब ५० प्रतिशत पनि औषधि अहिले जिल्लाका स्वास्थ्य संस्थामा नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन । स्थानिय सरकारलाई औषधि खरिद गर्ने अधिकार दिएको भएपनि स्थानिय निकायले समय मै ध्यान नदिदा अहिले जीवनजल समेत अभाव भएको छ ।
राज्यले ७० प्रकारका औषधीहरु निशुल्क बितरण गर्ने भनेको भएपनि स्बास्थ्य केन्द्रहरु स्थानीय तहमा आएपछि पछिल्लो डेढ बर्ष यता जिल्लाका स्बास्थ्य संस्थाहरुले औषधि अभाव हुन थालेको हो । वर्षा तथा गर्मी मौसममा लाग्ने छाला सम्बन्धी रोगहरु, झाडापखाला, रुघाखोकी, लगाएतका बिरामीहरुले अहिले सरकारी स्वास्थ्य संस्थामा राज्यले उपलब्ध गराउने निःशुल्क औषधि नहुँदा निजी स्वास्थ्य संस्थाहरुमा गएर उपचार गर्न बाध्य भएका हुन ।
पछिल्लो समय स्वास्थ्य प्रती जनचेतना बढदै जाँदा जिल्लाका भित्री गाउँहरुमा पनि सामान्य समस्यामा पनि स्बास्थ्य केन्द्रमा जाने र उपचार गराउने प्रचलन बढेको भएपनि औषधि अभावको समस्या रहँदा आफुहरु मारमा परेको स्थानियले बताएका छन ।