मन्त्री र नेताले भरिएको गाउँकै स्वास्थ्यसंस्थाको कन्तबिजोग, २१ वर्षदेखि एउटा कोठाबाट उपचार

रुपन्देही २९ असार । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित हराचौरमा रहेको स्वास्थ्य चौकीमा २०५६ सालदेखिे एउटा कोठाबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । २०७२ सालको भुकम्पले केहीमात्रामा क्षति पुर्याएको र भवन चुहिने भएपछि २ वर्षअघि मात्र अर्को घरमा स्थानान्तरण गरिएको छ तर अवस्था भने उस्तै छ ।
सरकारले शिक्षा र स्वास्थ्यमा आदर्श नारा दिएपनि यो स्वास्थ्य चौकीको हैसियत भने वर्षौंदेखि उस्तै दयनीय छ । स्वास्थ्य चौकी एउटा कोठाको भरमा चलिरहेको छ । स्वास्थ्य चौकिमा ६ जना कर्मचारी छन् तर स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा दिनपनि कर्मचारीलाई निकै गाह्रो परेको छ । ‘स्वास्थ्य चौकीमा गर्भवती महिला चेकजाँचको लागि आउछन् अनि मैले मेरो कुर्सी छोडेर बाहिर जानुपर्छ सोही बेला अरु कुनै बिरामी आए कि त बाहिर उपचार गराउनु पर्छ कि त कुराउनु पर्छ,’ स्वास्थ्य चौकीका प्रमुख धिरोज मगरले भने । दैनिक १०– १२ जना सेवाग्राही आउने गर्दछन तर कुनै बिरामीको गोपनियता राख्न तथा ईमर्जेन्सी सेवा दिन गाह्रो परेको छ ।
उक्त गाउपालिका वर्तमान् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, वर्तमान् सांसद मैना भण्डारी , प्रदेश सभासद गीता थापा, कमल श्रेष्ठको निर्वाचन क्षेत्र समेत हो ।
स्वास्थ चौकी कै नजिक प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको पनि घर रहेको छ । यतिका वर्षसम्म पनि समस्या किन भन्ने प्रश्न गाउँपालिकाका अध्यक्ष दोण खत्रीलाई राख्दा उनले विगतका कुनै कुरालाई नकोट्याई अहिलेको बजेटमा उक्त स्वास्थ्य चौकीको लागि बजेट छुटाईएको र अर्कोवर्ष तीन कोठे भवन निर्माण गर्ने दावी गरे । तर, स्थानियले भने गाउँपालिकाले झरना तथा पार्क निर्माणका लागि बजेट विनियोजन गर्ने तर स्वास्थ्य चौकीको लागि भने केही पहल नगरेको भन्दै आलोचना गरेका छन् ।