पानी शुद्ध राख्न अपनाऔं यी उपाय...
अहिले देशैभर वर्षा र पहिरोका कारण मानिसको जनजीवन प्रभावित बनेको छ । बाढि र डुबानका कारण सबैभन्दा धेरै पिउने पानीको समस्या हुन सक्ने भएकाले र दूषित पानीको सेवनले गर्दा विभिन्न रोग हरु लाग्न सक्ने भएकाले विषेश सावधानी अपनाउनुपर्ने हुन्छ ।
बाढी, डुबान र पहिरोका कारण पानीको मुहानहरु दूषित हुने भएकाले पानी कसरी शुद्ध पिउने र कसरी रोग लाग्नबाट जोगिने त्यसमा सबै मानिस सचेत हुनुपर्छ । जथाभावी पानी खानुभन्दा उद्दार कर्ताले दिएको पानी पिउनुपर्छ ।
यो समयमा पिउने पानी शुद्ध राख्न सर्वप्रथम पानीका मुहान सुरक्षित राख्नु आवश्यक छ । तर, बाढिका कारण पानीको मुहान नै असुरक्षित हुने भएकाले सकेसम्म पानी कसरी उमाल्न सकिन्छ त्यसको जोहो गर्नु पर्छ । सबैभन्दा पहिले आफू सुरक्षित हुनु आवश्यक हुन्छ । त्यसका लागि अग्लो ठाउँ वा पानी नजम्ने सुक्खा ठाउँमा जानुपर्छ । उद्दार गरिएको अवस्थामा उद्दारकर्तासँग पानी शुद्धिकरणका लागि पियुष वा आगो बाल्ने जोहो गर्नुपर्छ । सकेसम्म उमालेकै पानी सेलाएर पिउनु फाइदाजनक हुन्छ ।
फिल्टर प्रविधि
पानी शुद्धीकरण गर्ने प्रविधिमध्ये फिल्टर प्रविधि पनि एक हो । पानीको फिल्टर दुईप्रकारले गर्न सकिने विशेषज्ञहरू बताउँछन् । कञ्चन फिल्टर एक सुधारिएको बायोस्यान्ड फिल्टर हो । विशेष पाइपजडित एउटा प्यास्टिकको बाल्टिनमा गिटी, बालुवा राखिएको हुन्छ । यसले पानीमा भएका आइरन र धमिलोपना घटाउनुको साथै जीवाणुसमेत हटाई पानीमा शुद्धीकरण आउँछ ।
यसबाट प्रतिघण्टा १५ लिटर पानी छान्न सकिने विज्ञहरूको धारणा छ । यो सजिलो घरेलु प्रविधि भएकाले विश्व बैंकले अमेरिकामा आयोजित डेभलपमेन्ट मार्केट प्लस २००३ मा पुरस्कृतसमेत गरेको थियो । यस फिल्टरमा भएका मसिना बालुवाका कणबाट धेरै प्रकारका ठूला जीवाणु छानिन्छन् । र, स–साना जीवाणु बालुवाको माथिल्लो भागमा हुने जैविक प्रक्रियाबाट नष्ट हुन्छन् ।
अर्को सिल्भर फिल्टर पनि पानी शुद्धीकरणको सजिलो विधि हो । यसमा राखिएको डिस्कमा चाँदीको लेपन गरिएको हुन्छ । त्यही लेपनले पानीमा भएका रोगजन्य कीटाणु (भाइरस ब्याक्टेरिया–फङ्स) आदिलाई नष्ट गरिदिन्छ । एक कोषीय जीव चाँदीको लेपन भएको ठाउँमा आएको एक मिनेटभित्रै निसासिएर मर्छन् । यसले रासायनिक प्रतिक्रियाविना नै कीटाणुलाई नष्ट पारिदिन्छ । यसले प्रतिघण्टा एक लिटर पानी छान्ने हुँदा ठूलो परिवारलाई समेत पिउन पुग्छ ।
पीयूषको प्रयोग प्रविधि
पीयूष क्लोरिन भनिने एक रासायनिक झोल हो । विश्व स्वास्थ्य संगठनका अनुसार पीयूषमा ०.५ प्रतिशत क्लोरिन हुन्छ । एक लिटर पानीमा तीन थोपा पीयूष मिसाएपछि पानी जीवाणुरहित बन्छ । सो पानी आधा घन्टापछि पिउनयोग्य बन्छ । तर, तोकिएको परिणामभन्दा बढी मिसाएमा स्वास्थ्यलाई हानि पुग्न सक्ने भएकाले यसप्रति सचेत रहन पनि जरुरी हुन्छ ।
यो खाने पानीलाई जीवाणुरहित पार्ने एक सजिलो र सस्तो प्रविधि हो । यो दैनिक घरमै प्रयोगसमेत गर्न सकिन्छ । पीयूषको प्रयोगपछि पानी उमाल्नुपर्दैन । बजारमा पाइने पीयूष ६० मिलिको हुन्छ । यसले चार सय लिटर पानीलाई जीवाणुरहित पार्छ । तर, पीयूष सिधै पिउनुहुँदैन । कपडा तथा शरीरको कुनै भागमा परेमा धेरै पानीले पखाल्नुपर्छ । चिसो, अध्याँरो र केटाकेटीले नभेट्ने ठाउँमा राखी पीयूषद्वारा पानीलाई शुद्धीकरण गर्न सकिन्छ ।
सोडिस प्रविधि (घाममा राख्ने)
घाममा राखेर पानी स्वच्छ बनाउने विधिमध्ये सोडिस प्रविधि सरल र विनाखर्च पूरा हुने प्रविधि हो । यस प्रविधिका लागि एक÷दुई लिटरसम्मको प्लास्टिकको पारदर्शी बोतल र पर्याप्त सूर्यको किरण भए पुग्छ । सूर्यको तापबाट निस्कने परावैजनी किरणले पानीमा रहेका झाडापखाला, आउँ, टाइफाइड, जन्डिसजस्ता रोगका हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट गर्ने गर्छ ।
यो सजिलो भरपर्दो र साधारण जानकारीको भरमा सबैले प्रयोग गर्न सक्ने विधि हो ।
यसको प्रयोग गर्दा सर्वप्रथम बोतलमा भएको लेबल झिकी भित्री र बाहिरी भाग सफा गर्नुपर्छ । पानी भरेर बोतलको बिर्को बन्द गरेपछि पानीलाई बिहान घाममा राखेदेखि घाम नअस्ताएसम्म पारिलो घाममा करिब ६÷७ घन्टा र बादल लागेमा दुई दिनसम्म ढल्काएर राखिदिनुपर्छ । त्यसपछि पानी कीटाणुरहित भई पिउनयोग्य बन्छ । तर, पानी धमिलो भए फिल्टर गरेरमात्र घाममा राख्नुपर्छ । यसका लागि जर्किन वा रंगीन बोतल प्रयोग गर्नुहुँदैन । यो प्रविधिलाई विश्व स्वास्थ्य संघ, युनिसेफ, नेपाल सरकार खानेपानी विभागबाट पनि मान्यताप्राप्त भइरहेको छ ।
खानेपानीको गुणस्तर जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा गरिएको छ । खानेपानी शुद्धीकरणका लागि राज्यको मात्र नभएर पानी प्रयोगकर्ताको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यस्ता विधिद्वारा घरमै शुद्धीकरण गर्न सकिएमा विभिन्न प्रकारका रोगबाट मुक्त रहन सकिन्छ ।