पाल्पामा झाडा पखालाबाट ५० जना बिरामी, ४ को अवस्था गम्भीर

पाल्पा, २८ असार । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० भन्दा बढी मानिस झाडापखला लागेर बिरामी परेका छन् । बिरामी मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प ज्ञवालीले बताए ।
उनका अनुसार बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखला लागेको र शुक्रबार बिहानदेखि सिंगो गाउँ नै झाडापखलाले ग्रस्त बनेको डाक्टर ज्ञवालीले बताए ।
जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकार माधव प्रसाद ज्ञवालीले बताए । उनका अनुसार बिरामीको अवस्थालाई ध्यानम राखेर सलाइन चढाउनुका साथै जीवनजल खुवाउने काम भइरहेको छ ।
बिरामी मध्ये चारजनालाई थप उपचारका लागि तानसेन स्थीत युनाइटेड मिशन अस्पताल लगिएको सूचना अधिकारी ज्ञवालीले बताए ।
दूषित पानी सेवनका कारण झाडापखला लागेको हुनसक्ने अनुमान गरिए पनि यथार्थ कारण यकिन हुन सकेको छैन्द । स्वास्थ्यकर्मीको टोली शुक्रबार साँझ सातबजे मात्रै घट्नास्थल पुगेको हो । झाडापखला लागेका बिरामीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।