लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु गायब, अनुसन्धान गर्दै प्रहरी

लुम्बिनी, २८ असार । पाल्पाको तानसेन नगरपालिका–७, स्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो नवजात शिशु हराएको छ ।
तानसेन नगरपालिका–९ डाँडाडुम तिलाहारकी २२ वर्षीया जमुना रानाले जन्माएको छोरा जन्माएको शिशु हराएको हो । शुक्रबार ११ बजे जन्माएको शिशु ३ बजे नै गायब भएको हो ।
सुत्केरी छोरीलाई रेखदेख गर्न बसेकी आमासँगै हुँदा शिशु गायब भएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । जमुनालाई सुत्केरी व्यथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास ल्याइएको थियो ।
अर्धचेत अवस्थामा रहेकी सुत्केरी जमुनालाई ज्वानोको झोल लिन मेडिकल कलेजको क्याण्टिन गएका बेला घटना भएको प्रहरीले जनाएको छ । सहयोग गर्ने भन्दै अपरिचित महिलाले बच्चा लिएकी र उनैले शिशु लिएर हिँडेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।
दिउँसो तीन बजेतिर घट्ना भए पनि प्रहरीलाई भने बेलुकी ५ बजेमात्र खबर भएको थियो । घटनाका सम्बन्धमा सिसिटिभीको फुटेज निकालेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । सुरक्षाकर्मीले खोजी कार्यलाई तीव्रता दिएको पनि उनले बताए ।
लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनालले अस्पतालभित्र भएको घटनाले आफूलाई दुःखी बनाएको भन्दै घटना कसरी घट्यो भन्ने सम्बन्धमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने बताए ।