आठमहिना पछि बल्ल बनाइयो ट्रमा सेन्टरको सिटीस्क्यान, सञ्चालनमा आएपछि फोटोसेसन

काठमाडौं, २४ असार । देशकै एकमात्र ट्रमा सेन्टर राष्ट्रिय ट्रमा सेन्टरमा सिटिस्क्यान मेसिन आठ महिनापछि मंगलबारबाट बल्ल सञ्चालनमा आएको छ । राष्ट्रिय स्तरको एक मात्र ट्रमा सेन्टरमा जतिबेलै सञ्चालन हुनुपर्ने अत्यावश्यक मेसिन आठ महिनापछि मर्मत गर्दाअस्पतालका कर्मचारीहरुले भने ठूलै उपलब्धि हासिल गरेझैं सामुहिक तस्वीर खिचाएर प्रचार गरेका छन् । जुन बडा उदेकलाग्दो र भद्दा देखिएको छ ।
मुलुकको एकमात्र दुर्घटना, हाडजोर्नी तथा न्यूरो सम्बन्धी चोटपटक लागेका बिरामीको उपचार गर्ने एकमात्र ट्रमा सेन्टरमा सिटीस्क्यान गर्ने मेसिन बिग्रिंदा बिरामी महंगो शुल्कमा बाहिर सिटी स्क्यान गराउन बाध्य बनेका थिए ।
अस्पतालमा मंगलबार मेसिन सञ्चालनमा आएपछि आठ जनाको सीटीस्क्यान गरिसकेको अस्पतालका निर्देशक डा. प्रमोद यादवले जानकारी दिए । उनका अनुसार १० जनाको सिटि स्क्यान मंगलबार नै भइसक्ने छ ।
अस्पतालमा दैनिक आइपुग्ने बिरामी मध्ये लगभग २० जनाको सिटिस्क्यान गर्नुपर्ने अवस्था हुने गरेको पनि डा. यादवले बताए ।
यसरी हेर्दा यो ८ महिनाको बीचमा सेन्टरमा आइपुगेका बिरामी मध्ये ४ हजार ८ सय भन्दा बढी बिरामीले सिटी स्क्यानको असुविधाका साथै निजी अस्पतालमा मंहगो शुल्क तिर्न बाध्य भएका थिए ।
डा. यादवका अनुसार सिटि स्क्यानको मर्मत गर्न १ करोड लागेको छ । यसका लागि बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । तर, अस्पताल भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सञ्चालित छ । जुन आफैमा स्वायत्त हो । सिटिस्क्यान मेसिनको ट्युव बिग्रिंदा अस्पताल सिटी स्क्यान विहिन भएको थियो । अहिले ट्युव फेरिएको छ ।
दुर्घटना वा अन्य कुनै कारण चोट लागेका बिरामीलाई आपत्कालीन उपचार गर्न सहज हुने भन्दै सेन्टरको स्थापना गरिएको हो । तर, मुलुकको एकमात्र ट्रमा सेन्टरमा उपकरण बिग्रिंदा महिनौंसम्म कसैले चासो दिएका थिएनन् ।
ट्रमामा पूर्ण विशेषज्ञ सेवा दिइने भएकाले हाडजोर्र्नी तथा नशा, मुटु शल्यचिकित्सक, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूह आवश्यक हुन्छ ।
२ सय शैयाको सेन्टर रहेको छ । तर नेपालको एकमात्र ट्रमा सेन्टर व्यवस्थापकीय लापर्वाही र सरकारी कार्यशैलीका कारण बेलाबेलामा आफैँ बिरामी पर्दै आएको छ । सेन्टरमा देशैभरीका घाइतेहरु उपचारका लागि रिफर भएर आउँछन् । तर आवश्यक उपकरणको अभावमा उपचार प्रभावकारी बन्न सकेको छैन । दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचले तत्कालीन भारतीय र नेपालाका प्रधानमन्त्रीले १९९७ जुन ६ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब छ वर्षपछि सन् २००३ मा दुवै देशबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएको थियो । वर्षौं लगाएर निर्माण सम्पन्न भएपछि ४ वर्षअघि भारतले नेपाललाई हस्तान्तरण गरेको थियो ।
यो सिटि स्क्यान पनि भारतकै सहयोगमा सेन्टरमा जडान गरिएको थियो । तर यो मेसिन बिग्रेको पहिलोपटक भने होइन । पटक पटक मेसिन बिग्रेर पछि बनाउँदै सञ्चालनमा ल्याउँदै गरिएको छ ।